यही असोज ३ गते बिहीबार संविधान दिवसको दिन तीनवटै तहका कर्मचारीहरू राष्ट्रिय झन्डा लिएर प्रभातफेरीमा अनिवार्य सहभागी हुनुपर्ने भएको छ।
संविधान दिवसको दिन हातहातमा राष्ट्रिय झन्डा लिएर उपस्थिति हुनेको हाजिर गृह मन्त्रालयमा पठाउने व्यवस्थासहित सरकारले सोको पालना गर्न र गराउन गृहले विभिन्न मन्त्रालयलाई पत्राचार गरेको छ।
संघीय, लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछि संविधान दिवस मनाउन सरकारले कडाइका साथ निर्देशन जारी गरेको यो नै पहिलोपटक हो। गृहको पत्राचारअनुरूप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संविधान दिवस व्यापक बनाउन देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ।
संविधान दिवस मनाउने सम्बन्धमा स्थानीय तहका लागि तोकिएको भूमिकासमेत उल्लेख गर्दै त्यसको पालना गर्न र गराउन ७ सय ५३ स्थानीय तहमा पत्रमार्फत निर्देशन दिइएको हो।
संविधान दिवस व्यापक र भव्यताका साथ मनाउन त्यस सम्बन्धमा स्थानीय तहका लागि विभाजित कार्यक्रमसमेत उल्लेख गरी पत्र पठाइएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिबाट स्थानीय तहका लागि स्वीकृत कार्यक्रम पालना गराउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
स्वीकृत कार्यक्रमअनुसार संविधान दिवसको अघिल्लो दिन असोज २ गते बिहीबार उपत्यकाभित्रका सबैका सरकारी कार्यालयसहित महानगरपालिका र नगरपालिकाले आआफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा र ब्यानर सजाउनुपर्नेछ। नगरको सरसफाइ र शृंगार गरेर राष्ट्रिय झन्डा राख्नुपर्ने मन्त्रालयको निर्देशन छ। नेपाल समाचारपत्रमा खबर छ।