कम्युनिस्ट नेतृत्वको सरकार वर्तमान व्यवस्थाप्रति वितृष्णा फैलाउन लागेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।
बीपी जयन्तीका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रममा उनले दुईतिहाइको सरकारले केही काम गर्न नसक्दा आमनागरिकमा राजनीतिप्रति वितृष्णा बढेको बताए । उनले यही वितृष्णाकै कारण व्यवस्थामाथि नै खतरा उत्पन्न हुने दाबी गरे । ‘सरकारले समाजवादको मूल मर्मै बुझेन । कृषिलाई केन्द्रमा राखेर नीति बनाउन आवश्यक थियो । त्यो गर्नै सकेन,' उनले भने, 'भ्रष्टचारबाट आजित जनतालाई राहत दिन सकेन् । अझ नेताहरु नै भ्रष्ट भएपछि कर्मचारीले भ्रष्टाचार गर्ने नै भए । यी कारणले राजनीतिबाट जनतामा वितृष्ण फैलिन सुरु भएको छ, यसले व्यवस्थाप्रति नै वितृष्ण बढ्दै गएको छ ।
यस्तै उनले कांग्रेसको जागरण अभियानमा कामभन्दा बढी प्रचारमुखी भएको टिप्पणीसमेत गरे । ‘जागरण अभियान संगठनात्मक हुन नसक्नु दुर्भाग्यपूर्ण हो । तर जागरण अभियानले संगठनलाईं केन्द्रमा राख्न सकेको छैन्,' उनले भने, 'पार्टी संगठनलाई मूल मर्ममा राखेर निर्वाचित जनतप्रतिनीधिले काम गर्न जरुरी छ ।’
वरिष्ठ नेता पौडेलले कांग्रेसको सिद्धान्तको जित भएपछि संगठनले हारेको भन्दै जागरणमार्फत हारेको संगठनलाई पुनर्जीवित बनाउनुपर्ने बताए । उनले भने, ‘संविधानमा हामीले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादको व्यवस्था गरेका छौं । यो भनेको हामीले भन्दै आएको बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद हो । लोकतान्त्रिक मूल्य मान्यता नभएको समाजावाद भनेको साम्यवाद हो ।'