बिहीबार बाँकेमा भएको घटनाको बिरोधमा नेपाली कांग्रेसले आन्दोलन घोषणा गरेको छ।
पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यसबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन भोलि बिहान ८ बजे ज्ञापनपत्र बुझाइने जानकारी दिए। उनका अनुसार काठमाडौं, ललितपुर र भक्तपुर कांग्रेस जिल्ला सभापतिहरुको नेतृत्वमा भोलि दिउँसो ३ बजे माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जानकारी उनले गराए। यसैगरी भोलि नै सभापति शेरबहादुर देउवा बाँके जाने भएका छन्।
नेपाली कांग्रेसको जागरण अभियानका क्रममा बिहीबार बाँकेको सितापुरमा नेकपाबाट केही प्रभाबशाली नेताकार्यकर्ता कांग्रेस प्रबेश गरेका थिए। त्यसपछि नेकपाका कार्यकर्ताले मञ्चमै पुगेर आक्रमण गरेका थिए। त्यसक्रममा बाँके कांग्रेसका सभापति किरण कोइरालाको हात भाँचिएको थियो।
‘नेकपाको गढबाट दर्जनभन्दा बढी कार्यकर्ता कांग्रेस प्रवेश गरेपछि तिल्मिलाएको नेकपाले जागरण अभियानमा आक्रमण गरेको हो,’पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने।
पत्रकार सम्मेलनमा भक्तपुर सभापति दुर्लभ थापाले सरकारले दोषीमाथि कारवाही नगरे ७७ वटै जिल्लाबाट जागरण अभियानकै क्रममा आन्दोलनको आँधीबेहरी ल्याउने बताए।
यसैबीच, घटनाको बिरोधमा बाँके कांग्रेसले आज दिउँसो विरोध प्रदर्शनको कार्यक्रम रहेको छ।