प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कुण्ठित गर्नेगरि केन्द्र सरकारले ल्याएका विद्येयक तथा ऐनहरुको एकमुष्ट खारेजीको लागि आफूहरु सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । राउतले संघीय सरकारले आफूलाई माथि पारेर विभिन्न ऐन, कानून तथा विद्येयकहरु ल्याएकोमा तिव्र असन्तुष्टि पोखे । उनले केन्द्र सरकारले ल्याएका संविधानविरोधी विद्येयक तथा ऐन र कानूनहरु आफूहरुलाई मान्य नहुने भन्दै केन्द्र सरकारबाट भएका त्रुटीहरु सच्याउनुपर्ने सुझाव दिए ।
संविधानले राष्ट्रिय वनको सवालमा यो अधिकार प्रदेश सरकारलाई दिएकोमा केन्द्र सरकारले गलत तवरले आफ्नो मातहातमा राख्ने प्रयास गरिरहेको उनको आरोप छ । मुख्यमन्त्री राउतले जनताका आकांक्षाअनुसार आफूहरुले काम गरिरहेको पनि स्पष्ट पारे । मुख्यमन्त्री राउतले आफू कामबाट पूर्ण रुपमा सन्तुष्ट रहेको सुनाउँदै प्रदेशमा काम नै भएन भनेर काठमाडौंबाट टिकाटिप्पणी गर्न नहुने जिकिर गरे।
उनले संविधानमा भएका सबैखाले त्रुटीहरु सच्याउनको लागि अब ढिलाई गर्न नहुने धारणा व्यक्त गरे। फरक प्रसँगमा उनले आफू राजपासँगको एकताको पक्षमा रहेको समेत बताए ।