नेपाली कामदारहरु रोजगारीका लागि अब मलेसिया जान पाउने भएका छन्।
१५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्ने सहमति भएसंगै नेपाली कामदार मलेसिया जाने बाटो खुलेको हो। नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिबीच तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो।
म्यानपावर व्यवसायीदेखि विभिन्न राजनीतिक दल र कामदारहरुले मलेसियाको रोजगारी खुलाउन दवाव बढाइरहेको बेला क्वालालम्पुरमा भएको तीन दिने वार्तामा यस्तो सहमति जुटेको हो ।
सहमति पत्रमा मलेसियाको मावन संशाधन नीति विभागका प्रमुख बेट्टी हसन र नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमरेले हस्ताक्षर गरेका छन्।
कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्नेछ भने मेडिकलमा भएको खर्च पनि पहिलो महिनाको तलब दिने समयमा रिफन्ड गर्ने समझदारी दुई दशेबीच भएको छ ।
नेपाल सरकारद्वारा सूचीकृत एकसय २२ मध्ये ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्न आगामी नोभेम्बरको पहिलो साता टोली पठाउन मलेसिया सरकार सहमत भएको छ । यसअघि बायोमेडिकल प्रणालीमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाको भने निरीक्षण हुने छैन।