नागरिकतासम्बन्धी विधेयकमा रहेको वैवाहिक अंगीकृतको प्रावधानलाई मतदानमा लैजान सांसदहरूले माग गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था समितिमा बिहीबार नागरिकता विधेयकमाथिको छलफलका क्रममा केही सांसदले मतदानबाटै यसलाई टुंग्याउनुपर्नेमा जोड दिए । नेमकिपाका सांसद प्रेम सुवालले नागरिकता सिनेमाको टिकटजस्तो बाँड्ने विषय नभएको भन्दै वैवाहिक अंगीकृतको व्यवस्थामा मतदानबाटै टुंग्याउन माग गरे ।
नेपाल सिक्किम हुने गरी नागरिकता वितरण गर्न नहुने भन्दै उनले विवाह गरेर आएका बुहारीलाई १५ वर्षपछि नागरिकता दिने व्यवस्था मिलाउन माग गरे ।
त्यस्तै, नेकपाका सांसद नवराज सिलवालले बिहे गरेर आउनासाथ राजनीतिक अधिकारबाहेक सामाजिक, आर्थिक अधिकार हुनेगरी नागरिकताको व्यवस्था गर्नुपर्ने बताए । उनले वैवाहिक अंगीकृतका लागि ७ वर्षको व्यवस्था राख्नुपर्ने सुझाए । नेकपाकी सांसद रेखा शर्माले विवाह गरेर आउनासाथ विदेशीलाई राजनीतिक अधिकार दिन नहुनेमा जोड दिइन् ।