गण्डकी प्रदेशमा सबैभन्दा बढी भ्रष्टाचार हुने जिल्लामा कास्की पहिलो स्थानमा परहेको छ।
प्रदेशका ११ वटा जिल्लामा भ्रष्टाचारका उजुरीका आधारमा वर्गिकरण गर्दा कास्की पहिलो स्थानमा पर्दा पवर्त दोस्रो स्थानमा छ। यसैगरी बढी भ्रष्टाचार हुने तेस्रो जिल्लामा तनहुँ रहेको छ। स्याङ्जा चौथो स्थानमा छ। यसैगरी बाग्लुङ पाँचौं, लमजुङ छैटौं, म्याग्दी सातौं, गोरखा आठौं, मुस्ताङ नवौं, नवलपुर दशौं र मनाङ ११ औं स्थानमा छ।
पहिलो स्थानमा रहेको कास्कीमा मात्रै गत वर्ष ४२७ भ्रष्टाचारका उजुरी परेका थिए । प्रदेशभर कूल ८३२ उजुरी दर्ता भएकामा ५४५ उजुरी फछ्र्योट भइसकेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।
जिल्लामा भ्रष्टाचारजन्य गतिविधि भएको भन्दै परेको उजुरीमा स्थानीय सरकार, भौतिक पूर्वाधार, विद्यालय, नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो–तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, अन्य सिफारिसमा अनियमितता गरेको, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभावी भत्ता सुविधा लिने गरेकोलगायत उजुरी कार्यालयमा परेका छन्।
भौतिक पूर्वाधारतर्फ आर्थिक वर्षको अन्त्यमा काम गर्ने, बढी सामान खरीद गर्ने, लागत स्टिमेट तयारी बदनियतपूर्ण तरिकाले गर्ने, नक्कली बिल भर्पाइ बनाई भुक्तानी दिने तथा ठेकेदार र प्राविधिकसँग अवाञ्छित गतिविधि गर्ने र हिस्सेदारी खोज्नेजस्ता विषयमा आयोगमा उजुरी परेको जनाइएको छ । शिक्षा, स्वास्थ्यतर्फ भवन निर्माण, शौचालय निर्माण, नक्कली प्रमाणपत्र, विद्यालयको जग्गा बेचबिखनलगायतका उजुरी आयोगमा परेका छन्।