मंगलबार तीनदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको महत्वाकांक्षी परियोजना इन्डोप्यासिफिक स्ट्राटेजीलाई अस्वीकृत गर्ने प्रतिबद्धता जनाएका छन्।
वाङ नेपाल भ्रमण सकेर स्वदेश फर्किएपछि चिनियाँ विदेश मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा दाहालले यस्तो प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ। विज्ञप्तिमा दाहालले नेपाल असंलग्न नीतिमा दृढ रहेको र चीनविरुद्ध अघि सारिएको कथित इन्डो प्यासिफिक स्ट्राटेजीलाई अस्वीकृत गर्ने बताएको उल्लेख छ। दाहालले चीनको विकासमा अवरोध गर्ने कुनै पनि परियोजना स्वीकार नगर्ने र चीनको विकास नेपालका लागि पनि अवसर भएको बताएको मन्त्रालयले जनाएको छ। दाहालले हङकङमा पछिल्लो समय देखिएको समस्यालाई पनि चीनको आन्तरिक मामिला भएको बताएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
दाहालको यो प्रतिबद्धता र अभिव्यक्तिले पनि अमेरिकालाई चिढ्याउने काम गरेको छ। दाहालको भनाइलाई लिएर नेपालस्थित अमेरिकी दूतावासले प्रतिक्रिया जनाइसकेको छ। अमेरिकी दूतावासका प्रवक्ताले दाहालको भनाइलाई पुष्टि गराउन बेइजिङस्थित अमेरिकी दूतावासमार्फत प्रयास भइरहेको र नेपाल सरकारको आधिकारिक धारणा पर्खिरहेको बताएका छन्। ‘यो सत्य हो भने यो भड्काउने कुरा हो, यसबाट हामी नेपालको वर्तमान अवस्थाबारे प्रस्ट हुनेछौं,’ दूतावासका प्रवक्ताले दाहालको भनाइप्रति लक्षित गर्दै भने। इन्डोप्यासिफिक स्ट्राटेजी चीनको महत्वाकांक्षी परियोजना बिआरआईलाई चुनौती दिन अमेरिकाले अघि सारेको हो।
दाहालनिकट स्रोतले पनि चिनियाँ विदेशमन्त्रीसँगको भेटमा छिमेकीप्रति लक्षित कुनै पनि परियोजना नेपालले स्वीकार नगर्नेबारे छलफल भएको पुष्टि गरेको छ। ‘छिमेकीलाई परिलक्षित गर्दै ल्याइएका परियोजना नेपालका लागि स्वीकार्य हुँदैनन्,’ दाहालले चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीलाई स्रोतले उद्धृत ग-यो। दाहालले इन्डो प्यासिफिक स्ट्राटेजीबारे चिनियाँ विदेशमन्त्रीसँग पूर्वतयारीअनुसार नै कुरा गरेको स्रोतले पुष्टि गरेको छ।
राजनीतिक विश्लेषक विष्णु सापकोटा दाहालले एकपछि अर्काे गर्दै अमेरिकालाई चिढ्याउने अभिव्यक्ति दिनुलाई ‘सरप्राइज’ भन्छन्। सापकोटा दाहालका अमेरिकाविरोधी अभिव्यक्ति आश्चर्यजनक ढंगले आएपनि त्यसका पछाडि विभिन्न पक्षले काम गरेको बताउँछन्। नेकपाभित्रको पूर्वमाओवादी खेमाको विश्वास जित्न जित्न दाहालले आफूलाई अमेरिकाविरोधी देखाउने प्रयास गरिरहेको सापकोटा दाबी गर्छन्। सुरुदेखि नै साम्राज्यवाद र विस्तारवादको विरोध गर्दै आएको माओवादी खेमालाई अमेरिकाको विरोध गर्दा विश्वासमा लिन यस्तो गरेको हुनसक्ने उनको तर्क छ। पहिले भारत र विस्तारवादको विरोध गरे पनि अहिले त्यसलाई निरन्तरता दिँदा भारतबाट तत्कालै मूल्य चुकाउनुपर्ने भएकाले दाहालले भारतसँगको सम्बन्धलाई सन्तुलन गर्दै अमेरिकाको विरोध गरिरहेको सापकोटा बताउँछन्। नागरिक दैनिकमा खबर छ।