प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणाको माग गरेको छ ।
राष्ट्रियसभा बैठकको विशेष समयमा बुधबार कांग्रेस सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रणको साटो बढ्दै गएको बताए । डेंगुबाट सर्वसाधरण आतंकित बनेको भन्दै उनले तत्काल संकटकाल घोषणा गरी नियन्त्रण अभियान चलाउन सरकारको ध्यानाकर्षण गराए । डेंगु संक्रमणबारे गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिने उनको भनाइ थियो । उनले भने, 'सरकार कुहिरोका काग बनेको छ । यसलाई अंग्रेजीमा क्लु लेस भन्छ । ७७ मध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ति मान्नुपर्छ कि पर्दैन ? स्वास्थ्यको क्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ?'
उपचारमा संलग्न चिकित्सकदेखि मन्त्रीसम्मलाई डेंगु संक्रमण हुँदा पनि सरकार तथा सम्बन्धित निकाय (स्वास्थ्य मन्त्रालय) जिम्मेवार बन्न नसकेको उनको आरोप थियो ।
उनले ३ सय ५० रुपैयाँ पर्ने डेंगु जाँच किटको निजी अस्पतालहरुले २६ सय रुपैयाँसम्म लिने गरेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । चितवनमा अस्पतालहरुले डेंगु परीक्षण गर्न २६ सय रुपैयाँसम्म लिने गरेको र त्यसमा स्थानीय प्रशासनले ‘एक हजारमा गरेनौ भने कारबाही गर्छौं’ भनेको उल्लेख गर्दै सांसद अधिकारीले सरकारले डेंगुको निशुल्क जाँचको व्यवस्था मिलाउनुपर्ने माग गरे ।
यस्तै बैठकमा सत्तारुढ दलकै सांसद कोमल ओलीले पनि डेंगु संक्रमण नियन्त्रणका लागि सरकार गम्भीर बन्न नसकेको टिप्पणी गरिन् । उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर डेंगु संक्रमण तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् । गत वैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ भने हजारौ संक्रमित छन् ।