निकै चियोचर्चामाझ टुंगिएको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा भएको पारस्परिक सहयोगको समझदारीलाई कूटनीतिक जानकारले ‘घरेलु तयारीबिनाको नतिजा’ भनेर टिप्पणी गरेका छन्।
नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बैठकपछि सोमबार हस्ताक्षर भएको समझदारीपत्रमा ठूला र अपेक्षित कुनै पनि सहयोगका एजेन्डा ‘सम्बोधन’ गरिएका थिएनन्। मनाङमा ३५ करोड रुपैयाँको अस्पताल खोलिदिने, ५ हजार त्रिपाल उपलब्ध गराउने र चिनियाँ भाषा पढाउने शिक्षक आपूर्ति गर्ने समझदारीमा दुई देशका विदेशमन्त्रीले साक्षी बसेर ‘हस्ताक्षर’ गराएका थिए।
‘हामी परम्परागत रूपमै यस्ता ठूला भ्रमणका अवसरमा अलि हतारिने गर्छौं, एजेन्डामा छलफल र तयारी गर्ने अभ्यास हामीमा छैन,’ पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले भने, ‘हामीले अन्तिम घडीमा तयारी गर्दाको परिणाम यसपटक फेरि देखापरेको छ।’ विशेष महत्त्वका भ्रमणमा ‘लक्ष्य, योजना र कार्यक्रम’ स्पष्ट देखिनुपर्नेमा एउटा विज्ञप्ति जारी गर्ने तहको तदर्थवादी कार्यशैलीले निरन्तरता पाइरहेको पूर्वसचिव भट्टराईले बताए।
पूर्वराजदूत दिनेश भट्टराईले विदेशमन्त्री वाङको भ्रमण अवसरमा परराष्ट्र मन्त्रालयले एजेन्डामा विज्ञ समूहमाझ परामर्श र छलफल गरेको भए परिणाम अलग हुन सक्ने प्रतिक्रिया दिए।
‘कति रुपैयाँ सहयोग आयो अथवा कति त्रिपाल दिइयो भन्ने कुरा गौण हो तर विदेशमन्त्रीको भ्रमणलाई सहयोग र साझेदारीको अर्थमा अलिक अर्थपूर्ण बनाउन सकेको भए हुन्थ्यो,’ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा परराष्ट्र मामला सल्लाहकारसमेत रहेका उनले भने, ‘गृहकार्य नहुँदा एजेन्डामा स्पष्टता देख्न सकिएन।’ हल्लाको कूटनीतिको दिगो अर्थ रहन नसक्ने उल्लेख गर्दै उनले उच्च तहमा भएको भ्रमणमा नेपालको ‘लाजमर्दो कूटनीति’ देखिएको टिप्पणी गरे।
‘हाम्रो यत्रो सरोकारको व्यापार घाटा र क्रस–बोर्डर इकोनमिक जोनको एजेन्डालाई अहिले सम्बोधन गर्न/गराउन सकिन्थ्यो,’ उनले भने, ‘नेपाली सर्वसाधारणका लागि पनि सबैभन्दा चासोको विषय बनिसकेको रेल्वे लिंक र पेट्रोलियम आयातको उपाय एजेन्डामै पर्न नसक्नु आफैंमा अनौठो छ।’
उनले भारत र चीनका विदेश मन्त्रीहरू एकपछि अर्को गर्दै नेपाल भ्रमणमा आएको तथा संयन्त्र बैठक बसेको यो अवसरलाई राजनीतिक स्थिरतापछि आर्थिक समृद्धिको दिशामा ‘अर्थपूर्ण’ बनाउनेतर्फ परराष्ट्र मन्त्रालयले सामान्य सरोकार पनि राख्न नसकेको प्रतिक्रिया दिए। विदेशमन्त्री वाङको नेपाल भ्रमणबारे परराष्ट्रको चीन मामला हेर्ने शाखाका अधिकारी तथा सचिव तहबाट समेत ‘छलफलको एजेन्डा तय नभएको’ भनिएको थियो।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने विदेशमन्त्रीस्तरीय बैठक क्रममा बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजनामा नेपालका प्रस्तावित एजेन्डाबारे अन्तिम ‘कार्यादेश (टीओआर) र लगानी मोडालिटी’ सार्वजनिक गरिने जानकारी दिएका थिए। तर बैठकमा बीआरआई वा रेल्वे–लिंकका विषयमा छलफल हुनै सकेन। कान्तिपुरमा खबर छ।