निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको बताएको छ। आयोगले विभिन्न ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको बताएको हो। आयोगले मतदाता नामावलीउपर दाबी विरोधसमेत आह्वान गरेको छ।
आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार १ असोजमा हरेक वडामा रहेको सहायक नाम दर्ता अधिकारीको कार्यालयमा नामावली प्रकाशन गरिने, २ असोजमा सो नामावलीमा दोहोरो नाम परेको हटाउन तथा त्रुटि भएको सच्याउन निवेदन लिनेलगायतका काम गरी ६ असोजमा पुनः नामावली अद्यावधिक गरिनेछ।
यसैगरी, ८ असोजमा हटाइएको नाम सम्बन्धित गाउँपालिका तथा नगरपालिकाको वडा कार्यालयमा टाँस्ने तथा सोही दिन अद्यावधिक गरिएको नाम प्रकाशन गर्ने र ८ देखि १० असोजसम्म अद्यावधिक गरिएको नाम जिल्ला निर्वाचन कार्यालयमा बुझाइने आयोगले जनाएको छ। राजधानी दैनिकमा खबर छ।