नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीलाई सुदृढ बनाउन गुटउपगुट र अन्तर्घातको राजनीति त्याग्नुपर्ने बताएका छन्।
दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमको मंगलबार जनकपुरमा उद्घाटन गर्दै उपसभापति निधिले नीतिलाई आत्मसात गरेर अगाडि बढे पार्टीभित्र रहेको गुटउपगुटको समस्या समेत अन्त्य हुने दाबी गरे।
नेपाली कांग्रेसभित्र गुटउपगुट र अन्तर्घातको ठूलो रोग रहेको बताउँदै उनले व्यक्ति नभएर नीतिको पछाडि लाग्न कार्यकर्तालाइ आग्रह समेत गरेका छन्।
पहिलो चरणको जागरण कार्यक्रम पूर्ण रूपमा सफल रहेको दाबी गर्दै निधिले दोस्रो चरणकाे कार्यक्रमलाइ पनि सफल र भब्य बनाउनु पर्नेमा जाेड दिए।
दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमको प्रमुख उद्देश्य भनेकाे नेता कार्यकर्ताबीच आपसी सम्वाद साथै मतदाता र युवाहरुसँग सम्पर्क, सम्वाद र सक्रियता बढाउनु रहेकाे उनकाे भनाइ थियाे।
उपसभापति निधिले भने,‘उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारमा छ, तर उसले संविधान संशोधनको कुरा गर्न सकेको छैन,मधेशी जनतालाई झुक्याउने काम गरिरहेको छ।’ नेता निधिले प्रदेश नं २ नाम मिथिला–भोजपुरा हुनुपर्नेमा समेत जाेडदिए ।
नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी जारी भएको भन्दै उनले असोज ३ गते भव्यताका साथ संविधान दिवस मनाउन पनि आग्रह गरे। संविधानमा रहेका त्रुटिहरु संशोधन गर्न आफूहरु प्रतिवद्ध रहेको भन्दै निधिले संविधान संशोधनको विरोध गर्नेमा सबैभन्दा अगाडि नेकपा रहेको आरोप लगाए।
सरकारले संविधानको भावना विपरित विधेयकहरु ल्याउन लागेकाेप्रति निधिले अाप्पति जनाए। उनले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्नेमा जाेडदिए। प्रदेश क्षेत्र कार्यसमितिका सभापति शिवजी रायको सभापतित्वमा भएकाे उक्त कार्यक्रम अघि वृक्षराेपण गरिएकाे थियाे।