प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्किएका छन् ।
सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा मिर्गौलाको फलोअप उपचारका लागि भदौ ५ गते गएका प्रधानमन्त्री ओली आज (शुक्रबार) स्वदेश फर्किएका हुन् ।
सिंगापुरमा उनको ‘प्लाज्मा फेरिसस’ को उपचार विधिबाट मिर्गौलाको उपचार गरिएको थियो । दिन बिराएर गर्नुपर्ने प्लाज्माफेरेसिस उपचार विधि बुधबार (अस्ति) सकिएको थियो ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललगायतले स्वागत गरेका थिए । उनले विमानस्थलमा यसपटक पनि सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन् । यसअघि पनि सिंगापुरबाट फर्किंदा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया नै नदिएर विमानस्थलबाट बाहिरिएका थिए । अहिले उनको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएको छ ।
उपचारका क्रममा सिंगापुरमै रहेका बेला ओलीलाई भेट्न नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत नेताहरु पुगेका थिए । यसअघि उनी गत साउन १८ मा सिंगापुरको सोही अस्पतालमा उपचार गर्न गएका थिए । उनी उपचार गराएर साउन २७ मा फर्किएका थिए । उपचारका क्रममा प्रधानमन्त्री ओलीले सिंगापुरबाटै दुईपटक मन्त्रिपरिषद्का सदस्यसँग भिडियो कन्फरेन्स गरेका थिए ।