२१ वर्षअघि माओवादीले एसिड खन्याइदिएपछि रुकुमको खोलागाउँ गाविसका पूर्व अध्यक्ष गोपाल शर्माका दुवै आँखा बन्द छन्। जसले गर्दा अरुको सहायताविना एक पाइला पनि अघि बढाउन सक्दैनन्।
२०४९ को स्थानीय चुनावमा नेपाली कांग्रेसका तर्फबाट विजयी भएका शर्मालाई तत्कालिन माओवादी कार्यकर्ताले आफ्नो समर्थन नगरेको आरोपमा आँखामा एसिड खन्याइदिएका थिए।
शर्मालाई थाहा छ ती आक्रमणकारी को हुन् भनेर। उनको भनाइमा आक्रमण गर्न आउने कतिपय चिनिएका मान्छे नै थिए। तिनैमध्येका एक हाल प्रदेश सभा सदस्य छन्। उनी हुन् अनल भन्ने गोपाल शर्मा। गोपालका दाजु विशाल शर्मा पनि आक्रमणमा सहभागी थिए। विशाल अहिले चौरजहारी नगरपालिकाका मेयर छन्।
यसरी गरे आक्रमण
२०५५ साउन ११ गते घरमा बसिरहेका बेला करिब ४ सयजति माओवादी आएर उनीमाथि आक्रमण गरेका थिए। भदौ पहिलो साता नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुर्खेतमा सम्पन्न कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका शर्माले घटनाका बारेमा बेलिबिस्तार लगाए। कांग्रेसको महासमिति सदस्यका नाताले शर्मा सो कार्यक्रममा सहभागी भएका हुन्।
शर्माले उतिबेलाको कुरा सम्झँदै भने ‘अध्यक्षज्यू ढोका खोल्नुस् हामी गस्तीमा आएका छौं’ भनेर बाहिरबाट आवाज आएपछि मैले ढोका खोल्न खोजें। तर परिवारका सदस्यले उनलाई ढोका नखोल्न आग्रह गरे।’ तर पनि केही काम होला, कुराकानी गर्न आएका होलान् भनेर शर्माले ढोका खोले। उनले भने ‘त्यति ठूलो समूह आएको छ मैले ढोका नखोले पनि उनीहरु फोडेर भित्र पस्न सक्छन् भनेर ढोका खोलेको हुँ।’
त्यसपछि माओवादीका केही कार्यकर्ता घरभित्र पसेर ‘तँ नेपाली कांग्रेसको खुँखार कार्यकर्ता रहेछस्। तैंले बिपी स्मृति दिवस मनाएको र वृक्षारोपण गरेको पनि थाहा पायांै’ भनेछन्। जवाफमा शर्माले ‘तपाईं पनि माओको जन्मदिन मनाउनु हुन्छ। मैले महामानव बिपीको मनाउँछु । तपाईंलाई गालीगलौज त मैले गरेको छैन’ भनेछन्। त्यो कार्यक्रममा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासमेत सहभागी थिए। ‘त्यतिबेला तैले के बोलिस् त्यो सबै हामीलाई थाहा छ भनेर अत्याउँन खोजे, अनि मैले आफ्नो पार्टीलाई कसरी सुदृढ गराउने भनेर बोलेको हुँ, तपाईंहरूलाई केही आक्षेप लगाएको छैन भनें,’ उनले सम्झिए।
त्यसपछि माओवादीले घँगारु (काँडैकाँडा) को लठ्ठीले हानेर उनलाई बेहोस बनाएछन्। अनि परिवारका सदस्यलाई कोठाभित्र राखेर बाहिरबाट ताल्चा लगाइदिए। शर्माका अनुसार त्यसपछि उनीहरुले खुकुरी निकाले। ‘अब मलाई काट्ने भए भनेर सोच्न थालें, त्यतिबेला मुखबाट कुनै आवाज निस्कन सकेन। खुकुरीले आँखा निकाल्ने हुन् कि भन्ने लागेको थियो। तर होइन रहेछ, उनीहरुले आँखामा एसिड हालिदिएछन्, यो कुरा पछिमात्र थाहा पाएँ,’ उनले त्यो आक्रमण सम्झिए।
भोलिपल्ट बिहान हेलिकोप्टरले उनलाई काठमाडौं पु¥याएको थियो। त्यसपछि शिक्षण अस्पतालमा करिब १ वर्ष उपचार भयो। अहिले अरु सबै ठीक भए पनि उनले आँखाको ज्योति फर्कन सकेन।
आक्रमण गर्नेमध्येका गोपाल शर्मा (अनिल) उनका पनि नातेदार पर्छन्। आजकाल बेलाबेलामा घरतिर आउने गर्छन्। उनलाई ‘तिमीले आँखा लगिहाल्यौ अब मलाई मारिदेऊ’ भन्छन् उनी।
हिजोको त्यो पीडा बिर्सन खोज्छन् तर सक्दैनन्। उनले भने ‘पहिलाभन्दा ज्यादा अहिलेको अहिले पीडा सहेर बस्नु परेको छ।’