नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकार अधिनायकबादतर्फ उन्मुख भएकोले संघीयता र लोकतन्त्रमाथि नै खतरा बढेको बताएका छन्।
नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघले सर्लाहीको लालबन्दीमा आयोजना गरेको २ नंबर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको सोमबार उद्घघाटन गर्दै उपसभापति निधिले संघीयता र लोकतन्त्रमाथि आइपरेको खतराबाट मुलुकलाई जोगाउनु कांग्रेसको दायित्व भएको बताए।
संघीयता र लोकतन्त्रविरोधी सरकारका गतिविधिबारे जनताले बुझिसकेको उल्लेख गर्दै उनले अब जनता कम्युनिष्टले फैलाएको भ्रममा नपर्ने बताए। लोकतन्त्रका प्रति प्रतिबद्ध भएको भनेर जनताको आँखामा छारो हाल्ने सरकारको प्रयास अब कुनै हालतमा सफल नहुने बिश्वास व्यक्त गरे।
संविधानविरोधी क्रियाकलापको चौतर्फी आलोचना भइरहेकोले त्यसबाट जनताको ध्यान अन्यत्र मोड्न सरकारले संविधानमाथि खतरा रहेको भन्न थालेको निधिको भनाई थियो। उनले संविधान र लोकतन्त्रमाथि यदि नेपालमा खतरा छ भने त्यो अरु कसैबाट होइन सरकारबाट मात्र भएको दाबी गरे।
संघीयतालाई असफल सिद्ध गर्नका लागि प्रदेश सरकारलाई केन्द्र सरकारले अधिकारबिहीन बनाएको उनको भनाई थियो। डेढ बर्षमा सरकारले जनजीविकाको सबालमा कुनै काम गर्न नसकेको निधिले आरोप लगाए। सरकारले एकपछि अर्को जनहितविपरित काम गरेको उल्लेख गर्दै उनले जनजीविकाका मुद्धालाई सरकारले पूरै बेवास्ता गरेको बताए।
मुलुकमा महत्वपूर्ण राजनीतिक परिबर्तनमा कांग्रेसले नेतृत्व गरेको स्मरण गराउँदै निधिले अहिलेको सरकारविरुद्ध आन्दोलनको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए। उनले मुलुकमा तेस्रो सबैभन्दा बढी जनसंख्या भएको मगर समुदायलाई अधिकारसम्पन्न बनाउन कांग्रेसले हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।