साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले राजनीतिक दलहरुकै अक्षमताका कारण गणतन्त्रमाथि खतरा बढेको बताएका छन् । नेताहरूले आफ्ना कमीकमजोरी ढाकछोप गर्न गणतन्त्रमाथि खतरा आएको अभिव्यक्ति दिइरहेका उनको आरोप छ ।
बुटवलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणतन्त्रमाथि खतरा आयो भन्ने दलका नेताहरूको भनाइलाई ‘नाच्न नजान्ने आँगन टेढो’ को संज्ञा दिए । राजा र राजतन्त्रवादीको गलत क्रियाकलापले राजतन्त्र अन्त्य भएको चर्चा गर्दै उनले वर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरूकै कमीकमजोरीका कारण गणतन्त्र पनि खतरामा पर्नसक्ने उल्लेख गरे। ‘अरुका कारण गणतन्त्र खतरामा छैन,’ संयोजक मिश्रले भने, ‘वर्तमान नेतृत्वमा रहेका दलका नेताहरूको असक्षमताले खतरा आउनसक्छ।’
पुराना दलको राजनीतिक मायाजालबाट जनता बाहिर नआएसम्म मुलुकको समृद्धि सम्भव नहुने उनको दाबी छ । आफ्नो पार्टी सरकारको नेतृत्वमा पुगे २०४६ पछिका राजनीतिक दलका नेताहरूको सम्पत्ति छानबिन गर्ने र पार्टीगत रूपमा खोलिएका कर्मचारी संगठन खारेज गर्ने उनको दाबी थियो ।
‘भ्रष्टाचार रोक्न ०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । हाम्रो पार्टी सरकारको नेतृत्वमा पुग्यो भने पहिलो क्याबिनेटबाट यो निर्णय गर्छौं,’ मिश्रले भने, 'राजनीतिक दलका भ्रातृ संगठनहरु पनि भंग गर्नुपर्छ ।'
सरकारले प्रेसमाथि दुर्नियत राखेको र अनुदार लोकतन्त्रको पक्षपोषण गरेको उनको आरोप छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामछिानेको पक्षमा भएको प्रदर्शन जनतामा सरकार र राज्यका निकायप्रति बढेको अविश्वासको प्रतिफल भएको मिश्र बताए । ‘अहिलेको सरकारबाट कानुनी शासन हुन्छ भन्ने जनताको विश्वास नभएर सडकमा धेरै मान्छे उत्रिए,’ उनले भने, ‘निष्पक्ष छानबिन गरी दोषीले सजाय पाउनुपर्छ, भीडले न्याय दिने होइन ।’