नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारलाई सधैंका लागि नसिध्याएसम्म लोकतन्त्रमाथि खतराको घण्टी बजिरहने बताएका छन्।
सभापति देउवाले लोकतान्त्रिक मूल्य, मन्यताको खिलापमा लागेको ओली सरकारलाई सिध्याउनका लागि कांग्रेसले अन्तिम धक्का दिनुपर्ने भएकोले त्यसका लागि तयार रहन निर्देशन दिए।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाको आयोजनामा बिहीबारदेखि सुर्खेतमा शुरु भएको कर्णाली प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको समापनका अबसरमा उनले दुईतिहाई बहुमतको आडमा ओली सरकारले नियम कानुन हातमा लिएर सर्बसत्ताबाद लाद्न खोजेको बताए।
कम्युनिष्ट राज्य स्थापना गर्नु नै मूल लक्ष्य भएकोले सरकार त्यसैतिर अग्रसर भएको देउवाको भनाई थियो। त्यसैका लागि उसले अदालतलाई महान्याधिबक्ता कार्यालय मातहत ल्याउन खोजेको र मिडिया काउन्सिल बिधेयकका नाममा पत्रकारका कलम बन्द गर्न खोजेको उनले स्मरण गराए।
कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले सिंहदरबारबाट चल्नुपर्ने सरकार सिंगापुरबाट चल्न लागेकोमा आपत्ति जनाए। कार्यसम्पादन नियमावली संशोधन गरेर प्रधानमन्त्री ओलीले सिंगापुरबाट मन्त्रिपरिषद् बैठक संचालन गर्न खोजेर देशको कानुन अपहरण गरेको बताए। उनले ओली सरकार देशको नियम कानुन मान्न तयार नभएको यो भन्दा बलियो प्रमाण अरु के हुन सक्छ भनी प्रश्न गरे।
महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारले गरेको भ्रष्टाचारले आकाश छोएको भन्दै त्यसका बिरुद्ध कांग्रेसले खबरदारी गर्नुपर्ने उल्लेख गरे।
अर्का महामन्त्री पूर्णबहादुर खड्काले ओली सरकारको डेढ बर्षको गतिबिधिका कारण जनता निराश भएको भन्दै त्यसलाई बिश्वासमा परिणत गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए। उनले सरकारकै कारण मुलुकमा जातीय, क्षेत्रीय र धार्मिक द्धन्दको खतरा बढेको उल्लेख गरे। सरकारका एकपछि अर्को गतिबिधिका कारण संबिधान नै धरापमा पर्न लागेकोले संबिधानको रक्षाका लागि कांग्रेस नै अग्रसर हुनुपर्ने महामन्त्री खड्काको भनाई थियो।
समापनका अबसरमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका उपसभापति विमलेन्द्र निधिले सहभागीहरुलाई प्रमाणपत्र बितरण गरेका थिए।