नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरूको स्तर गिरेको बताएका छन् । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल ललितपुरको प्रशिक्षण कार्यक्रममा शुक्रबार उनले आजभोलि जसलाई जे मन लाग्यो त्यही बोल्ने प्रवृत्ति बढेको बताएका हुन् ।
पहिले अनुशासित भएर सफल भएको तर आजभोलि नेताहरूको स्तर गिरेको उनको भनाइ छ । ‘हामी हिजो निकै अनुशासित थियौं र मात्रै यहाँ आइपुगेका हौं आजभोलि अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने भएको छ,’ उनले भने ।
त्यस्तै उनले हिजोका दिनमा सामूहिक निर्णय गर्ने र व्यक्तिगत जिम्मेवारी लिने भनिए पनि अहिले त्यो उल्टिएको बताए । ‘अहिले त जसलाई जे मन लाग्यो बोल्ने, समूहको हितलाई बेवास्ता गर्ने । व्यक्तिगत निर्णयको जिम्मेवारी समूहले लिइदिनु परेको छ,’ दाहालले भने, ‘यसलाई सच्याउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ ।’
यसअघि बिहीबारको नेकपा सचिवालय बैठकका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपालबीच तल्लो स्तरमा झरेर बाझाबाझ भएको थियो । पछिल्लो समय स्पष्ट दुई कित्तामा उभिएका पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र सचिवालय सदस्य नेपालबीच लामो चर्काचर्की भएपछि झण्डै ४५ मिनेट लामो बैठक तिक्ततापूर्ण वातावरणमा सकिएको थियो ।