सरकारले विभिन्न मन्त्रालयका सचिव तथा प्रदेशस्थित प्रमुख सचिवलाई सरूवा गरेको छ।
मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले १६ सचिवकाे सरूवा गरिएको जानकारी दिए। भदाै १,२ र ४ गते बसेकाे मन्त्रिपरिषद्काे बैठकले विभिन्न किसिमका ३५ वटा निर्णय समेत गरेकाे छ ।
उनका अनुसार महालेखा नियन्त्रक कार्यालयका सचिव सूर्यप्रसाद गौतमलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा र मन्त्रिपरिषद् कार्यालयका सचिव हरि पौडेललाई राष्ट्रपति कार्यालय पठाइएको छ।
यस्तै, राष्ट्रिय सतर्कता केन्द्रबाट माधव बेल्वासेलाई खानेपानी मन्त्रालय पठाइएको छ भने उद्योग मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन मन्त्रालय सरूवा गरिएको छ।
त्यस्तै, संस्कृति पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ भने जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्मालाई शिक्षा मन्त्रालय अन्तर्गत विज्ञान तथा प्रविधि हेर्ने गरी सरूवा भएको छ।
यसैगरी, भूमी व्यवस्था मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक कार्यालय सरूवा गरिएको छ भने शिक्षा मन्त्रालयका सचिव खगराज बराललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र शिक्षामा महेशप्रसाद दाहाललाई पठाइएको छ।
यस्तै, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रहेका सचिव बैकुण्ठ अर्याललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ,सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालयमा र प्रमुख सचिव रहेका आनन्दराज ढकाललाई लोक सेवा आयोग सरूवा गरिएको छ।
यस्तै, राष्ट्रपति कार्यालयबाट विनोद केसीलाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ। भने प्रदेश नम्बर ५ मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव तीर्थराज ढकाललाई प्रधानमन्त्री कार्यालय सरूवा गरिएको छ।
यस्तै, विगेन्द्रराज शर्मा पौडेल सार्वजनिक खरिद अनुगमनबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा र लोक सेवा आयोगबाट महेन्द्र गुरागाईंलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरूवा गरिएको छ।