प्रतिनिधिसभाको बिहीबारको बैठकबाट बाबुराम भट्टराई पनि सत्ता पक्षकै कुर्सीमा बस्न थालेका छन् । भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेकामा नेकपा सांसद विरोध खतिवडाले धन्यवाद दिए । केही समयअघि उनले संसद बैठकमा भट्टराई बस्ने सिट सही हो भनी प्रश्न उठाएका थिए । त्यतिबेला उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टी एकताको जानकारी निर्वाचन आयोगबाट नआएकाले सिट नमिलेको जानकारी गराएकी थिइन् ।
खतिवडाले भट्टराईलाई सत्तापक्षकै कुर्सीमा बस्न आग्रह गरेपछि भट्टराई पनि सत्तापक्षकै कुर्सीमा आएर बसेका थिए । भट्टराईको नयाँ शक्ति पार्टी र उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण भइसकेकाले अलग नबस्न खतिवडाले आग्रह गरे ।
‘नेपाली संस्कार पनि छ,’ खतिवडाले भने, ‘सामान्यत: विवाह भइसकेपछि प्रेमिकासँग बस्नुभन्दा पतिसँग बसेको राम्रो मानिन्छ।’ केही दिनअघि भट्टराई प्रतिनिधिसभा हलमा प्रतिपक्षको लहरमा बसेको विषयलाई अन्य सांसदले उठाएका थिए ।
बैठक सुरुमै सभामुख कृष्णबहादुर महराले संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी एकीकरण भई समाजवादी पार्टी नामक दल गठन भएको निर्वाचन आयोगको गत साउन २३ को निर्णय संसदलाई जानकारी गराएका थिए ।
खतिवडाले आफूले उठाएको विषय कार्यान्वयन भएकोमा संसद सचिवालयलाई धन्यवाद दिए । उनले अगाडि भने, ‘यो संसद नियमावलीको कुरा मात्र होइन नेपाली संस्कार पनि छ । विवाह भएपछि प्रेमीसँग भन्दा पतिसँग बसेको राम्रो, माइती बसेको भन्दा घरमा बसेकै राम्रो हुन्छ । सुरु सुरुमा लाज लाग्छ पछि हट्दै जान्छ ।’