प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारका लागि आज (बिहीबार) सिंगापुर प्रस्थान गरेका छन् ।
ओली गत साउन १८ गते फलोअप उपचारका लागि सिंगापुर गएकोमा १० दिन त्यहाँ बसेर साउन २७ मा स्वदेश फर्किएका थिए । उनी स्वदेश फर्किएपछि संसदको बैठकलाई सम्बोधन गर्नुका साथै संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकपनि बोलाएका थिए ।
यस्तै लामो समयदेखि थाती रहेको पार्टीको जिम्मेवारी बाँडफाँड पनि उनले यही समयमा टुंग्याएका छन् । यसैगरी विगतको द्वन्द्वकालीन घटनालाई टुंग्याउन सत्य निरुपण आयोग र बेपत्ता आयोगमा पदाधिकारी छनोटको विषयमा पनि उनले प्रमुख विपक्षी नेपाली कांग्रेससँग सहमति लिएर प्रक्रिया टुंग्याउने प्रयास गरेका छन् ।
उनी लामो समयदेखि मिर्गौलाका बिरामी हुन् । उनको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । कामको धपेडीको कारण देखाउँदै उनको निजी चिकित्सक समूहले प्रधानमन्त्रीलाई जाँचका लागि सिंगापुर जान आग्रह गरेपछि पहिला पनि गएकोमा आज पुन: गएका हुन् ।