नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालयको आगामी बैठकको अध्यक्षता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्।
बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी ओलीको अनुपस्थितिमा सचिवालय बैठकको अध्यक्षता गर्ने जिम्मेवारी दाहाललाई दिने निर्णय गरेको हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि दुई अध्यक्ष भए पनि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्दै आएका थिए।
ओली उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठकमा यो सहमति भएको हो। बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनी सिङ्गापुर गएपछि अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णय गर्ने तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकमा सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष प्रचण्डले बैठक आह्वान गरी निर्णय लिइने प्रवक्ता श्रेष्ठले बताए।
नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्य्विभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ ।