नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बस्दै छ। प्रधानमन्त्रीकाे सरकारी निवास वालुवाटारमा केहीबेरमा बैठक शुरुहुने छ। बुधबारकाे बैठकमा सचिवालय सदस्य माधवकुमार नेपालले दर्ता गराएको असहमतिपत्रमा कुनै छलफल नभएको पार्टीले जनाएको छ।
असहमतिपत्रको बारेमा छलफल हुने बताइएको थियो तर त्यसको चर्चा समेत भएन।
‘‘नेता नेपालले दर्ता गराएको असहमति पत्रको बारेमा कुनै छलफल भएन,’’ पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भने।
नेता नेपालले विभिन्न समयमा पार्टीको बैठकले गरेका निर्णयप्रति मङ्गलबार बसेको सचिवालयको बैठकमा सात बुँदे असहमतिपत्र दर्ता गराएका छन्। उनले केही निर्णय सच्याउन माग पनि गरेका थिए।
साङ्गठनिक एकताको बाँकी रहेका कामको बारेमा बैठकमा छलफल भएको बताउँदै प्रवक्त श्रेष्ठले भने, ‘‘छवटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा छलफल भयो तर समय अभावका कारण भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ।’’
बुधबारको बैठकमा भएका छलपलका विषयलाई बिहीबारको बैठकमा पूर्णता दिइने छ।