नेकपाका शीर्ष नेताहरुको ध्यान अहिले चुनावतिर अड्किएको छ । अझ भन्ने हो भने कास्की क्षेत्र २ मा कसलाई उम्मेदवार बनाउने भन्नेमै छ ।
आगामी मंसिर १४ गते कास्की क्षेत्र २ मा उपचुनाव हुँदै छ । यही चुनावमार्फत कसलाई नेतृत्वमा ल्याउने भन्ने होडमा राजनीतिक दलहरु लागेका छन् । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र २ मा उपचुनाव हुने भएको हो । निर्वाचन आयोगले कास्की २ सहित ५० पदका लागि तोकेको ५ सय ५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै यहाँ पनि चुनावी सरगर्मी बढेको हो ।
धेरैले रवीन्द्रकी पत्नी विद्या भट्टराई अधिकारीलाई उनको उत्तराधिकारीका रुपमा अघि बढाउने भन्दै लबइङ गरिरहेका छन् भने केही नेताहरु आफैं उम्मेदवार बन्ने र उनको उत्तराधिकारी बन्ने बताउँदै आएका छन् ।
नेकपाका नेता वामदेव गौतमले पनि कास्की २ बाट प्रतिनिधिसभामा सहभागिता जनाउने भन्दै खुट्टा तानेको निकै भएको छ । यद्यपि उनले आफू कास्की २ बाट उम्मेदवार नहुने भन्दै सार्वजनिक रुपमै भनिसकेको अवस्था छ । कास्की २ बाट नेकपामा जो व्यक्ति प्रतिनिधिसभाका लागि आउँछन् उसलाई रवीन्द्रकै उत्तराधिकारीका रुपमा हेरिने बताउँदै चुनावी प्रचारको तयारीमा नेकपा छ ।
उता नेपाली कांग्रेसले पनि लोकप्रिय छविका नेतालाई उम्मेदवार बनाएर प्रतिनिधिसभामा एक सीट भए पनि बढाउने दाउमा देखिन्छ । रवीन्द्रको गढलाई तोडेर चारतारे झन्डा फहराउने तयारीमा कांग्रेस लागेको छ भने नेकपा आफ्नो साख कसरी हुन्छ जोगाउने ध्याउन्नमा लागेको छ ।
त्यहाँका बुद्धिजीवी एवं जनताहरु भने देश, स्थानीय भूगोल, त्यहाँका जनताको भावना बुझेको व्यक्तिलाई नै प्रतिनिधिसभामा प्रतिनिधित्त्व गराउने पक्षमा छन् । केहीले भने महिला प्रतिनिधित्वको कुरा अघि बढाएका छन् । कास्की २ बाट उम्मेदवार बन्ने व्यक्ति नागरिकको जीवनस्तरमा आमूल परिवर्तन गर्न सक्ने क्षमतावान् हुनुपर्ने सबैको अपेक्षा देखिएको छ ।
कास्की २ मा उम्मेदवारका रुपमा अघि सारेका नेकपातर्फका नेताहरु भने विशेषगरी रवीन्द्र अधिकारीको लोकप्रियतालाई क्यास गर्ने तयारीमा जुटेका छन् । यस्तै प्रमुख प्रतिपक्षी रहेको नेपाली कांग्रेसले रवीन्द्रको अनुपस्थितिको फाइदा उठाउँदै आफ्नातर्फका उम्मेदवारलाई हरहालतमा प्रतिनिधिसभामा प्रतिनिधित्त्व गराउने तयारीमा छ ।