प्रधानमन्त्री केपी ओलीले संविधानको संरक्षण र कार्यान्वयनको जिम्मा हामी सबै नेपालीको भएको बताएका छन् ।
संविधान दिवस-राष्ट्रिय दिवस मूल समारोह समितिको बैठक सम्बोधनका क्रममा बुधबार उनले संविधानलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्ताबेज भएको बताए ।
उनले संविधान ल्याउन अग्रजहरुको संघर्ष र बलिदानको देन महत्त्वपूर्ण रहेको बताए । 'जीउ ज्यानको मात्र बलिदानी होइन अन्य थुप्रै बलिदानीको योग हो संविधान,' ओलीले भने, 'हामीले कष्टपूर्ण दिन बिताएर र अनेक अवरोध छिचोलेर यो संविधान प्राप्त गरेका हौं । त्यसकारण यसको संरक्षण कार्यन्वयन गर्ने जिम्मा हाम्रै हो ।' उनले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको समेत बताए ।
संविधानले वर्ग वा समुदायलाई मात्र होइन देशका सम्पूर्ण बासिन्दालाई समेट्ने भएकाले संविधान दिवस पनि व्यापक रुपमा मनाउनुपर्ने उनले बताए । उनले भने, 'घरघरमा दीपावली गर्नुपर्छ । संविधानसभाबाट २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले हाम्रो गौरवपूर्ण परम्परा, वर्तमान नेपालको अवस्था र भावी नेपालको मार्गदिशा तय गरेको छ ।'