नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको दावी गरेका छन्। उपसभापति निधिले भने,‘अहिले सरकारले न त विकास गर्न सकेको छ न त अधिकारका क्षेत्रमा काम गर्न नै सकेको छ।’
उनले वर्तमान सरकार जनताको नजरमा समेत असफल सिद्ध भैसकेको उल्लेख गरे। नेपाली जनताको आँखामा छारो हालेर मत लिएको ओली नेतृत्वको सरकारले एउटा पनि गतिलो कार्य गर्नं नसकेको बताए। सत्ता संहालेको दुई बर्ष बित्न लागिसक्दा पनि काम गर्न नसक्ने सरकारले उल्टै जनताको अधिकार खोस्ने प्रयास गर्नुले सरकार निरंकुशताको वाटोमा हिड्न थालेको प्रष्ट भएको निधिको भनाई थियो।
रिपोर्टर्स क्लवले मंगलबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निधिले लोकतन्त्र मास्न लागी परेको सरकार विरुद्ध खवरदारी गर्नुपर्ने वेला आएको बताए। उनले कम्युनिष्टहरुको चरित्र नै निरंकुश भएको भन्दै नेपाली जनतामाझ भ्रमको खेती गरेर उनीहरु सत्तामा पुगेको आरोप लगाए।
एक अर्को प्रसंगमा उपसभापति निधिले कांग्रेसले पार्टी संगठन सुदृढ बनाएर अघि बढ्ने बताए। त्यसैका लागि देशव्यापी प्रशिक्षण अभियान शुरु गरेको भन्दै उनले अवको निर्बाचनमा नेपाली कांग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउने दाबी गरे।
पार्टी भित्रका सानातिना मतभेदलाई संवादबाट हल गरी सशक्त ढंगले अघि बढ्ने उनको भनाई थियो। सरकार लोकतान्त्रिक मूल्य मान्यताको खिलापमा लागेको भन्दै निधिले लोकतन्त्रको रक्षार्थ आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए।