प्रतिनिधिसभाको मंगलबारको बैठकमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको प्रसंग उठेको छ ।
पत्रकार शालिकाराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै यसमा सरकार सजग हुनुपर्ने सांसदहरुले बताएका छन् ।
नेकपाकी सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको बताइन् । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेका बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न सकिँदैन,’ उनले भनिन्, ‘यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ ।’
त्यस्तै नेकपा अर्का सांसद हितबहादुर तामाङले चितवनमा गैरसंवैधानिकखाले नारा लागिरहेको भन्दै त्यसलाई सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए ।
‘अहिले चितवनका सडकमा प्रदर्शनका क्रममा गैरसंवैधानिक खालको नारा लाग्न थालेको पनि सुन्न आएको छ । त्यसलाई तुरुन्त नियन्त्रण गर्न नेपाल सरकार लागि परोस्,’ उनले भने, ‘राज्यले कुनै पक्षबाट पनि प्रभावित नभई निष्पक्ष छानबिन गर्नुपर्छ ।’
पत्रकार पुडासैनीको आत्महत्यापछि प्रहरीले आत्महत्यालाई दुरुत्साहन अभियोगमा टेलिभिजन प्रस्तोता लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।