दोहोरो जिम्मेवारी नपाएपछि नेकपा नेता प्रभु साहले प्रदेश २ अध्यक्षबाट मंगलबार राजीनामा दिएका छन् । साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
पार्टी एकीकरणका क्रममा भएको जिल्ला र प्रदेश कमिटी चयनप्रति असहमति जनाउँदै आफूले राजीनामा दिएको साहले बताएका छन् । यस्तै प्रदेश अध्यक्षका रुपमा आफूले अगाडि बढाएका हरेक काममा पार्टी नेतृत्व तहबाट असहयोग हुनुका साथै चौतर्फी घेराबन्दीमा पारेको भन्दै उनले राजीनामा दिएको बताइन्छ ।
साह स्थायी कमिटी सदस्यका दाबेदार पनि हुन् । तर तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाको स्थायी कमिटीमा उनको नाम भने परेको थिएन । साहले पछिल्लोपटक प्रदेश सदस्यहरुको चयन गर्दा पनि आफूसँग कुनै सल्लाह नगरेको भन्दै असन्तुष्टि जनाएका थिए ।