नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ मतको आडमा ओली सरकार प्रजातन्त्र सिध्याउन लागेको भन्दै त्यसका बिरुद्ध संघर्षका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाको आयोजनामा भैरहवामा शुरु भएको नेपाली कांग्रेसको ५ नं प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको सोमबार उद्घाटन गर्दै सभापति देउवाले राणा, पंचायत र ज्ञानेन्द्रका बिरुद्ध लडेर ल्याएको प्रजातन्त्र मास्न उद्यत ओली सरकारलाई पनि कांग्रेसले त्यसैगरी सिध्याइदिने चेतावनी दिए।
उनले सरकारले संसदमा दर्ता गराएका सबै बिधेयक लोकतान्त्रिक मूल्य, मान्यताका खिलापमा ल्याइएको उल्लेख गर्दै ती बिधेयक जस्ताको तस्तै पास भए लोकतन्त्र सकिने बताए। चुनाबअघि कम्युनिष्ट सरकार आएमा जनताले बोल्न पनि पाउँदैनन् भनेर आफूले भनेको स्मरण गर्दै सभापति देउवाले आज पत्रकारका कलम रोक्नका लागि सरकारले मिडिया काउन्सिल बिधयेक ल्याएको उल्लेख गरे।
लोकतन्त्रको रक्षाका लागि कांग्रेसले त्यस्ता कुनै पनि बिधेयक पारित हुन नदिने भन्दै त्यसबिरुद्धको खबरदारीका लागि जनता सडकमा आउनुपर्ने हुन सक्ने सभापति देउवाको भनाइ थियो।
कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाई बहुमतको सरकार बेकम्मा साबित भएको बताए। प्रदेशको नाम र राजधानीसमेत तोक्न नसक्ने सरकारले दुईतिहाई मत ल्याएको भनेर किन ठूला कुरा गर्ने भन्दै नेता पौडेलले दुईतिहाईको शक्ति अख्तियार र अदालतलाई तर्साउनमा प्रयोग गरिएको आरोप लगाए। त्यसैको आडमा ओली सरकारले संबैधानिक निकायको तजोबध गरेको भन्दै प्रजातन्त्र बिरोधी यस्ता गतिबिधिका बिरुद्ध कांग्रेस चुप लागेर नबस्ने उनले बताए।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले लोकतान्त्रिक प्रणालीका बिरुद्ध सबैभन्दा बढी खतरा सत्तापक्षबाटै भएको बताए। प्रदेश र स्थानीय तहलाई कमजोर बताएर संघीय सरकारले आमजनतामा संघीय व्यबस्था खराब हो भनेर सन्देश दिन खोजको उनको भनाई थियो। सत्तासीन दलका नेताहरुले पटक पटक व्यक्त गरेका संघीयताबिरुद्धका अभिव्यक्तिले सरकार त्यसै दिशातिर अग्रसर भइरहेको संकेत गरेको निधिले उल्लेख गरे।
अर्का उपसभापति बिजय गच्छदारले सत्तासीन दलका लोकतन्त्र बिरोधी गतिबिधिमाथि खबरदारी गर्न पनि कांग्रेस एकजुट हुनुपर्नेमा जोड दिए। उनले अब बन्ने सभापतिले आगामी संसदीय निर्बाचनमा पार्टीलाई सबैभन्दा ठूलाले दल बनाउनु सक्नुपर्ने बताए।
पूर्ब महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारका लोकतन्त्र बिरोधी गतिबिधि कांग्रेस समयमै गम्भीर हुनुपर्ने बताए। उनले सरकारका यस्ता गतिबिधिबारे कांग्रेसले जनतामाझ पुगेर भण्डाफोर गर्नुपर्ने उल्लेख गरे। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संसदमा दर्ता गरेका बिधेयकहरु संबिधान प्रतिकुल भएको भन्दै त्यसका बिरुद्ध शान्तिपूर्ण आन्दोलन गर्नुपर्नेमा जोड दिए। कांग्रेस सचेतक पुष्पा भुसालले लोकतान्त्रिक मूल्य, मान्यतालाई कमजोर बनाएर सरकार कम्युनिष्ट अधिनायकबादतिर अग्रसर भएको भन्दै त्यसबिरुद्ध सिंगो कांग्रेस एक भएर जानुपर्नेमा जोड दिइन्।
मंगलबारसम्म हुने प्रशिक्षण कार्यक्रममा ५ नं प्रदेशका ३०० भन्दा बढी महाधिबेशन प्रतिनिधिको सहभागिता रहेको छ।