प्रधानमन्त्री केपी ओलीले जनताको दिएको जिम्मेवारीबाट सरकार नभाग्ने बताएका छन् । उनले तत्काल आफ्नो सरकार ढल्ने सपना नदेख्न पनि आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले लोकतन्त्रप्रति सरकारको निष्ठामा अनावश्यक भ्रम नफैलाउन चेतावनीसमेत दिए । प्रधानमन्त्री ओलीले केही मानिसले पद जाने भयो भनेर अहिले प्रधानमन्त्री लगालग काँपिरहेको सपना देखिरहेको बताए । ‘पद नगएको मैले कोही देखेको छैन । राजा, महाराजा, बादशाह सबैको पद जान्छ । आगामी निर्वाचनपछि मेरो पनि पद जान्छ त्यतिन्जेल धैर्य गर्न साथीहरूलाई आग्रह गर्छु,’ उनले भने, ‘अहिलेको सरकार लगलग काम्यो भन्ने दिवास्वप्न नदेखे हुन्थ्यो ।’
उनले सरकार अचानक एउटा ह्विममा जनताको निराशामा टेकेर बनेको नभई संघर्षको बलिदान र इतिहासबाट बनेको बताए । ‘बलिदानपूर्ण इतिहास र सही नीति हेरर यो सरकार बनाउने जनादेश प्राप्त भएको हो, भावावेशमा होइन,’ उनले भने, ‘सरकारको लोकतन्त्रप्रतिको निष्ठाबारे अनावश्यक हल्ला चलाइएको छ। यो संसदभित्र भएका शक्तिविरुद्ध लागेर जनताको विश्वास भत्काउने प्रयासअन्तर्गत लोकतन्त्र ल्याउन लडेको सरकारमाथि प्रश्न उठाइएको छ ।’
उनले सरकार अधिनायकवादतर्फ गयो भन्दा जनताले नपत्याउने भएकाले त्यस्ता कुरा नगर्न आग्रह गरे । लोकतन्त्रका लागि आफूहरुको त्याग तपस्या अरुको भन्दा कम नभएको भन्दै उनले सरकार लोकतान्त्रिक भएन अधिनायकवादतर्फ गयो नभन्न सचेत गराए ।
'भ्रष्टाचार नियन्त्रण भएको छ'
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण भएको बताएका छन् । सुशासन कायम र अपराध नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गरेको भन्दै उनले सम्पत्ति सुद्धीकरण, ह्युमन ट्राफिकिङलगायत जो सुकैलाई पनि कानुनको दायरमा ल्याउने बताए । ओलीले अख्तियारले भ्रष्टचार नियन्त्रणमा तदारुकता देखाउँदै आयोगले इतिहासमै सबैभन्दा धेरै मुद्दा ३९ हजार दर्ता गरेको र भ्रष्टाचार नियन्त्रण भएको बताए । उनले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठनका लागि आयुक्त र प्रमुख आयुक्त सिफारिस गर्न सिफारिस समिति निर्माण गरिएको बताए ।
'राजसंस्था फर्काउँछु भन्नु बेमौसमको बाजा'
उनले सरकारको उदारताबाट नहौसिन राजावादीहरुलाई चेतावनी दिएका छन् । राजतन्त्र फर्कन्छ भन्ने विश्वास नलागेर सरकार मौन बसेको भन्दै उनले त्यस्तो लागेको दिन संविधान र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रने बताए ।
प्रधानमन्त्री ओलीले सरकारको उदारताका कारण केही तत्त्व बढ्ता हौसिएको बताए । तर सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु, प्रतिगमन गर्छु भनिए आफूहरुलाई मान्य नहुने उनले बताए । ‘जुन संस्था र शक्तिका कुरा गर्छन् मान्छेहरु, ती शक्तिहरु ज्यूँदो हुँदा हामीले ठेगान लगाएका हौं । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने परिकल्पना गरेर पनि उफि्रएको देखिन्छ,’ उनले भने, 'यो बेमौसमको बाजा नबजाए हुन्थ्यो, सरकारले उदारता देखाएको नपत्याएर हो । पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।’