प्रधानमन्त्री केपी ओलीले जनताको शासनविरोधी क्रियाकलाप सञ्चालन गर्ने तत्वलाई नहौसिन आग्रह गरेका छन्। आज संसदलाई सम्बोधन गर्दै ओलीले भने– अहिलेको सरकारको संयममता देखेर केही तत्व बढ्तै हौसिएको देखिन्छ, सरकार प्रसन्नतापूर्वक विरोध र आलोचनाको स्वागत गर्छ, जनताको शासनविराधी क्रियाकलाप सञ्चालन गर्ने तत्व नहौसिए हुने ।’
उनले केही प्रतिगामी तत्व सडकमा आए भन्दैमा जनताले सुम्पिएको जिम्मेवारीबाट सरकार भाग्ने दिवास्वप्न नदेखे पनि हुने बताए । ‘प्रधानमन्त्री पद जान्छ भनेर कामिरहेका छन् भनेर भनिएको पनि सुनेको छु, तर सरकार काम्छ भन्ने दिवास्वप्न नदेखे पनि हुन्छ, यो सरकार चुनौतीको सामना गरेर आएको हो,’ उनले भने।
उनले राजतन्त्र फर्काउने प्रयास पूरा नहुने र गणतन्त्रका लागि मैदानमा उत्रने पनि बताए । राजावादीहरुको नाम नलिई उनले भने– जुन संस्था र निकायका कुरा गर्ने गर्छन् मानिसहरु, ती संस्था जिउँदै हुँदा हामीले तह लगाएका हौं, अहिले चिहान गएर हड्डी फुकेर बिउँताउने कल्पना नगरे पनि हुन्छ।’
उनले कसैले प्रतिगमन गर्छ, संविधान अस्वीकार गर्छ भने त्यो सरकारलाई मान्य नहुने बताए।
ओलीले सरकारको लोकतान्त्रिक निष्टामाथि अनावश्यक हल्ला फैलाउने प्रयास भइरहेको भन्दै लोकतन्त्रिक शक्तिविरुद्ध र जनतामा निशारा बढाउने प्रयासअन्तर्गत यस्तो भइरहेको दाबी गरे।