समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले सर्त पूरा नभए सरकारबाट बाहिरीने चेतावनी दिएका छन् ।
नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालबीचको जिल्ला एकता घोषणासभामा सहभागी हुन आज गोरखा पुगेका अध्यक्ष यादवले
आफ्नो पार्टी संविधान संशोधन गर्ने शर्तमा सरकारमा गएकाे र त्यही शर्त पूरा नभए सरकारमा बस्नुकाे औचित्य नहुने बताएका हुन् ।
सदरमुकाममा पत्रकारसँगको भेटघाटमा उनले भने,'संविधान संशोधन हुने वा नहुने भन्ने विषय आफूहरुको भन्दा पनि सरकारको नेतृत्व गरेको पार्टीको विषय हाे । “अहिलेसम्म संविधान संशोधनको विषयमा कुनै कदम नचालिएको भन्दै उनले समाजवादी पार्टीले पहिचान, निर्वाचन प्रणाली, शासकीय स्वरुप र असमान र विभेदकारी व्यवस्था कहाँ–कहाँ छ त्यसलाई परिमार्जन गर्न चाहेको बताए ।
अध्यक्ष यादवले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकारसमेत गरे ।सरकारले गरेको राम्रो कामको पार्टीले प्रंशसा गर्ने र नराम्रो कामको आलोचना गर्ने अधिकार आफूसँग भएको उल्लेख गर्दै पर्याप्त बजेट अभावका कारण स्वास्थ्य क्षेत्रमा सोचेजस्तो सुधार गर्न नसकेको बताए ।कूल बजेटको ४.४८ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा विनियोजन भएको छ, उक्त बजेट पर्याप्त नभएकाे समेत बताए ।