नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा झाँगिएको गुटबन्दी अन्त्यका लागि कांग्रेसका नेताकार्यकर्ताहरु बिचार र नीतिको पछाडि लाग्नुपर्नेमा जोड दिएका छन्।
पोखरामा शनिबार सम्पन्न नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रममा उपसभापति निधिले अन्तरघात र गुटबन्दीको रोगबाट पार्टीलाई मुक्ति दिलाउने यो नै सर्बोत्तम बिकल्प भएको बताए।
पार्टीको बिचार, सिद्धान्त र नीति अनुसार अघि बढेका दिनमा गुटबन्दी अन्त्य हुने उनको भनाई थियो। यसका लागि हरेकले व्यक्तिभन्दा बिचारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उपसभापति निधिले व्यक्ति केन्द्रित गुटबन्दीभन्दा बिचार केन्द्रित गुटबन्दी कम हानिकारक हुने बिचार व्यक्त गरे।
निधिले गुटबन्दी अन्त्य भएपछि अन्तरघात स्वतः कम हुदै जाने बताए।
आगामी मंसिर महिनामा हुने उपनिर्बाचनको तयारीमा जुट्न उनले सबैलाई आग्रह गरे। आपसी मतभेदलाई बिर्सेर अघि बढ्नुपर्ने निधिको भनाई थियो। यसका लागि कांग्रेसका पक्षमा जनमत बनाउनु पर्ने भन्दै सबैलाई मतदाता केन्द्रित हुन पनि उनले आग्रह गरे।
कार्यक्रममा डा. जगदीशचन्द्र पोखरेल, डा.गोबिन्द पाखरेल, डा. आरजु राणा लगायतले प्रशिक्षण दिएका थिए।
शुक्रबारदखि शुरु भएको दुईदिने प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाबाट २०० भन्दा बढी महाधिबेशन प्रतिनिधिको सहभागिता रहेको थियो।