परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले न्युज २४ मा 'सीधा कुरा जनतासँग' कार्यक्रम सञ्चालक रवि लामिछाने कानुनभन्दा माथि नरहेको बताएका छन् । उनले अनुसन्धानका सिलसिलामा प्रहरीले रविलाई पक्राउ गरेको बताए ।
गृहजिल्ला गुल्मीमा शनिबार गरिएको पत्रकार सम्मेलनमा उनले कोही पनि व्यक्ति कानुन भन्दामाथि नहुने बताएका हुन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्याको सिलसिलामा अनुसन्धानका लागि लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरी ५ दिन म्याद थपेपछि भएका विरोधका सन्दर्भमा मन्त्री ज्ञवालीको यस्तो भनाइ सार्वजनिक भएको हो ।
उनले कानुनले सबैलाई समान मान्ने भन्दै घटनालाई अतिरञ्जित गर्न जरुरी नहरेको स्पष्ट पारे । पुडासैनीको भिडियो आफूले पनि हेरेको उनले बताए । भिडियोबारे पनि प्रहरीले अनुसन्धान गरिहेको उनको भनाइ थियो। 'रविजी पनि कानुनभन्दा माथि हुनुहुन्न । सोधपुछका लागि प्रहरीले पक्राउ गरेको हुनुपर्छ,’ ज्ञवालीले भने, ‘भिडियो इडिटको कुरा आएको छ । त्यसबारे पनि प्रहरीबाट अनुसन्धान हुनेछ ।’