नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ३३ केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तथा सात प्रदेशमा थप सहइन्चार्ज तोकेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न नेकपा सचिवालय बैठकले स्कुल विभाग प्रमुखकाे जिम्मा ईश्वर पोखरेललाई दिएकाे छ भने प्रचार विभाग प्रमुखमा नारायण काजी श्रेष्ठलाई दिएको छ ।
लामो समयदेखि स्कुल विभाग प्रमुखमा कसलाई दिने भन्ने बारेमा तत्कालीन एमाले र माओवादीबीच विवाद हुँदै आएको थियो । तत्कालीन माओवादीले श्रेष्ठलाई स्कुल विभाग प्रमुख बनाउन लबिङ गर्दै आएको थियो भने अध्यक्ष ओली पक्षले पोखरेल हुनु पर्ने अडान राख्दै आएको थियो ।
केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इन्चार्ज र सहइन्चार्ज निर्धारण, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको बाँकी पूर्णताबारे शनिवार बस्ने सचिवालय बैठकमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इन्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवसमेत टुङगो लागेको थियो ।
अधिकांश जिल्ला र स्थानीय तहका कमिटीले पूर्णता पाइसकेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भएको पार्टीले अन्तरिम विधान र राजनीतिक प्रतिवेदनलाई अन्तिमरुप दिई प्रकाशन गरिसकेको छ । तीन महिनाभित्र एकता प्रक्रिया पूर्णता दिइने घोषणा गरिएको थियो । बैठकले प्रदेश नं १ सहइन्चार्जम शेरधन राई र नरेश खरेल, प्रदेश नं २ मानागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश नं ३ मा हितमान शाक्य र काशीनाथ अधिकारी, गण्डकी प्रदेशमा किरण गुरुङ र यशोदा सुवेदी, प्रदेश नं ५ मा वैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला तथा सुदूरपश्चिम प्रदेशमा भानुभक्त जैशी र खगराज भट्टलाई थप गरेको नेकपाका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन र प्रतिष्ठान विभागमा नेता झलनाथ खनाल, स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेल, सङ्गठन विभाग प्रमुखमा वामदेव गौतम, प्रचारमा प्रवक्ता श्रेष्ठ र अर्थ तथा योजना विभागमा सुरेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिएको पार्टीका महासचिच विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी बैठकले पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी ईश्वरी रिजाल र श्रीराम ढकाललाई दिने निर्णय गरेको छ ।
यस्ताे छ सूची :