नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि शुरुहुँदै छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आजदेखि महाधिबेशन प्रतिनिधिका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शुरु गर्न लागेको हो।
आज र भोलि गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिइने प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए। दाहालका अनुसार गण्डकी प्रदेशमा ११ जिल्लाका करिब ३५० जनाको सहभागिता रहनेछ।
आज दिउँसो शुरुहुने प्रशिक्षणलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि लगाएतका अन्य नेताहरुले पनि संवोधन गर्ने जनाइएको छ।
यस्तै आउँदो सोमबार र मंगलबार प्रदेश ५ को रुपन्देहीमा प्रशिक्षण कार्यक्रम राखिएको भने भदौ ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतमा हुने छ।
सातै प्रदेशमा गर्ने भनिएको महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम प्रदेश १ र सुदुरपश्चिम प्रदेशमा भने केही समयपछि मात्र संचालन गरिनेछ।
कांग्रेसको सांगठनिक संरचना र विधान, पार्टीका महत्वपूर्ण प्रस्ताव र आर्थिक आधार लगायत वर्तमान सरकारको मूल्यांकन, जनतासंग संवाद र सम्पर्ककाबारेमा प्रशिक्षण दिइनेछ।