एनसेलले लाभकर छुट हुनुपर्ने जिकिरसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतको पूर्ण इजलासमा साउन २१ गते भएको सुनुवाइमा बहस नसकिएपछि आजका लागि पेशी सरेको हो।
एनसेलका तर्फबाट रमेश घिमिरेले दायर गरेको रिटमा न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र डा मनोजकुमार शर्मा रहेको पूर्ण इजलासमा सुनुवाइ हुनेछ।
एनसेलले ठूला करदाता कार्यालय ललितपुर र कर अधिकृत ओमप्रकाश भट्टराईलाई विपक्षी बनाइ वैशाख २५ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो।
उक्त मुद्दामा सर्वोच्चको पूर्ण इजलासमा जेठ २१ गते, असार १७, १८ र २२ गते सुनुवाइ भएको थियो। पछिल्लो सुनुवाइको एक महिनापछि मंगलबारका लागि तोकिएको पेशीमा सुनुवाइपछि फैसला हुनसक्ने अपेक्षा गरिएको थियो।