पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत अब पाकिस्तानप्रशासित कश्मीरमा केही गर्ने तयारीमा रहेको र युद्ध भएमा पाकिस्तान पूर्ण रुपमा तयार रहेको बताएका छन्।
पाकिस्तानी प्रशासित कश्मीरको संसदको विशेष सत्रलाई सम्बोधन गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै भने– तपाईंको इटाको जवाफ ढुंगाले दिनेछौं।’
मोदीले हिटलरले जस्तै जम्मु–कश्मीरबाट ३७० हटाएर अन्तिम कार्ड खेलेको उनको भनाइ थियो । ‘नरेन्द्र मोदीले जुन अन्तिम कार्ड खेलिरहनु भएको छ, यसपछि कश्मीर स्वतन्त्रतातर्फ जानेछ।’ उनले भने। इमरानले सम्बोधनमा कयौंपटक राष्ट्रिय स्वयंसेवक संघको नाम लिए र आज भारतमा जे भइरहेको छ, त्यो सबै आरएसएसकै कारण भएको उनको भनाइ छ। इमरानले आरएसएसको विचारधाराई हिटलरको नाजी पार्टीजस्तै बनाएको पनि बताए।
यसपटक पाकिस्तानले आफनो स्वतन्त्रता दिवस १४ अगष्टलाई कश्मीर एकजुटता दिवसको रुपमा बनाएको थियो। त्यही अवसरमा उनी पिओकेको राजधानी मुजफ्फराबाद पुगेका हुन्। उनलाई पिओकेका राष्ट्रपति सरदार मसुद खान र प्रधानमन्त्री राजा फारुक हैदरले स्वागत गरेका थिए भने उनलाई गार्ड अफ अनर पनि दिइएको थियो।
सम्बोधनका क्रममा इमरानले आरएसएसले आफ्नो प्रेरणा हिटलरको नाजी पार्टीबाट लिने गरेको उल्लेख गर्दै भने– उनीहरु सोच्थे मुसलमानहरुले हामीविरुद्ध जो हैकम जमाए, अब त्यसको बदला लिनुपर्छ। यही विचारधाराले मुसलमानमात्र नभई क्रिश्चियनलाई पनि घृणा गर्ने गरेको, यहीकारण महात्मा गान्धीको हत्या भएको र मुसलमानहरुको आमहत्या भएको उनको भनाइ थियो।
मोदीले कश्मीरमा आखिरी कार्ड खेलेर रणनीतिक गल्ती गरेको उल्लेख गर्दै इमरानले अब कश्मीर अन्तर्राष्ट्रिय मुद्दा बन्ने र आफू कश्मीरको आवाज विश्वभर उठाउने एम्बेसडर बन्ने पनि बताए ।
इमरानले यसपटक भारतले कश्मीरमा गरेको क्रियाकलापबाट ध्यान मोड्न पाकिस्तान प्रशासित कश्मीरमा कारवाही गर्ने खतरनाक योजना बनाएको दाबी पनि गरे । ‘म यहाँबाट मोदीलाई के सन्देश दिन चाहन्छु भने तपाईं कारबाही गर्नुस्, तपाईंको इटाको जवाफ ढुंगाबाट दिन्छु।’