राजनीतिक विश्लेषक सिके लालले मूलुकमा अहिले वर्ग र पहिचानको मुद्दाकाबीचमा द्वन्द बढेको बताएका छन् । २५ औं विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीले बुधबार बुटवलमा आयोजना गरेको ‘वर्तमान राज्यव्यवस्थामा पहिचानको अवस्था’ विषयक अन्तरक्रिया तथा छलफलमा बोल्दै उनले सो धारणा राखे ।
नेपाल जस्तो विविधता भएको मूलुकमा वर्ग छोटो समय र एकै पुस्तामा परिवर्तन हुन सक्ने तर पहिचान स्थापितका लागि समय लाग्ने बताए । अहिले राज्यसत्ता कुलिनवर्ग र पहुचवालाको हातमा रहेकाले जस्को तरबार उसैको दरबार भन्ने उखान चरितार्थ भएको टिप्पणी गरे । तर, आदिवासी जनजाति, मुस्लिम, मधेशी, महिला, दलित तथा पिछडीएका समुदाय भने यस विषयमा भ्रममा रहेको उनको भनाई थियो ।
नेपालको समस्या वर्गीय भन्दा जातीय रहेको तर्फ इङ्गित गर्दै उनले पहिचानका सवाललाई पाखा लगाएर समृद्धि नआउने बताए । उनले बहिष्कृत समुदायमा पनि समस्या रहेको बताउदै सांस्कृतिक पुँजीमा विचलन आएकोप्रति चिन्ता व्यक्त गरे ।
नेताहरु भ्रममा रहेको भन्दै नेपालको सन्दर्भमा वर्गिय नभई पहिचान नै राजनीतिक मुद्दा रहेकाले नेपालको राजनीति भनेकै पहिचान भएको बताए ।
पहिचानको सवाल समग्रमा देशकै सवाल भएको उनको दाबी छ । वसम्म नेपालमा सबै समुदायको पहिचान स्थापित हुंदैन तबसम्म देश समृद्ध हुन नसक्ने बताए । तर, यसका लागि संविधान बाधक रहेकाले संविधानको पूर्नलेखन गर्नु पर्ने उनको तर्क छ ।
सोही अवसरमा अर्का राजनीतिक विश्लेषक युग पाठकले मान्छेको पहिचान, सिप र ज्ञान मेटाएर ल्याउने विकास वास्तविक विकास हुन नसक्ने बताए । उनले देशमा अस्थिर सरकारका कारण विकास नभएको भ्रम छरेर दुई तिहाईमा पुग्नेहरुबाट नै पहिचान मुद्दाको हत्या भएको बताए । स्थायी सरकार भएर मात्रै विकास हुने भए ३० वर्षसम्म स्थायी रुपमा चलेको पंचायतमा नै नेपालको विकास हुने उनको तर्क थियो ।
नेपालको विकासको लागि पहिचान र विविधतालाई स्वीकार गरेर अगाडि बढ्नु पर्ने उनको जोड थियो । तर, वर्तमान सरकार यसको ठिक उल्टो बाटोमा हिँडेको बताए । सरकारले कुरा समाजवाद्को गर्ने तर बाटो दलाल पुँजीवादको लिएको भन्दै उनले सरकारले चरित्र परिवर्तन गर्नुपर्ने बताए ।
कार्यक्रममा पूर्व सभासद विनोद पहाडीले अन्याय र बहिष्करणमा परेका वर्ग, क्षेत्र, लिंग र समुदायको अधिकारका लागि तीनकै प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले कुरा नउठाउनु दुर्भाग्य रहेको बताए । पहिचानको मुद्दा राजनैतिक रुपमा टुङ्गो लगाउनुको विकल्प नभएको प्रष्ट पार्दै उनले शक्ति एकतृत गर्नुपर्ने कुरा पनि औल्याए ।
कार्यक्रमा आदिवासी जनजाति सांस्कृतिक अभियन्ता सञ्जोग लाफा मगरले विश्वका आदिवासी जनजाति समुदायका भाषामाथि चरम दमन भएको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामीले नेपालका लागि राज्यव्यवस्थामा बहुजातीय लोकतान्त्रिक समाजवाद बाहेक अरु व्यवस्थाको विकल्प नभएको दावी गरे ।