प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सर्वदलीय टोलीले बाढी तथा डुबानबाट भएको क्षतिबारे संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग छलफल गरेको छ। अविरल वर्षा र बाढीका कारण भएको क्षतिबारे जानकारी गराउँदै सहयोग जुटाउन काठमाडौँ पुगेको सर्वादलीय टोलीले सहयोगका लागि मन्त्री पुनसँग आग्रह गरेको हो।
छलफलको क्रममा मुख्यमन्त्री राउतले बाढीबाट भएको क्षति भयावह रहेकाले तत्कालिन र दीर्घकालीन योजना बनाएर तटबन्ध मर्मत तथा निर्माणमा सहयोग गर्न मन्त्री पुनको ध्यानाकर्षण गराए।
कटानका कारण नदीको पानी गाउँमा पसिरहेकाले त्यस्ता ठाँउमा तत्काल मर्मतको काम गर्नुपर्ने उनले बताए। हाल मर्मत कार्यका सहयोग गर्न संघीय मन्त्रीसंग आग्रह गर्दै मुख्यमन्त्री राउतले दीर्घकालीन रुपमा चुरे संरक्षण, चुरेमा भइरहेको अनियन्त्रित बसोवासको नियन्त्रण, नदीमा पक्की तटबन्धको निर्माणसहितको योजना बनाउनु पर्ने बताए। उनले दीर्घकालिन योजनाअनुरुप कार्य नभए मधेश मरुभूमिमा परिणत हुने भएकाले संघीय मन्त्रालयलाई तत्काल यस विषयमा सोच्नुपर्ने आवश्यक रहेको बताए।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले आवश्यक रकम अर्थ मन्त्रालयसँग मागी तत्काल गर्न सकिने काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको मुख्यमन्त्री राउतको कार्यालयले जनाएको छ। छलफलमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, राजपा संसदीय दलका सचेतक परमेश्वर साह, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवका साथै प्राविधिक टोलीको पनि सहभागिता थियो।