जनकपुर विमानस्थलमा हवाई इन्धन रिफयुलिङ सेन्टर सञ्चालनमा आएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शुक्रबार बुद्ध एयरमा इवाई इन्धन भरेर रिफयुलिङ कार्यको शुभारम्भ गरेका हुन्। त्यसअवसरमा मन्त्री यादवले रिफयुलिङ सेन्टर अभावमा यात्रुले भोग्दै आएको समस्या समाधान हुनुका साथै हवाई भाडासमेत घटने बताए ।
‘हवाई इन्धन काठमाडौँ र विराटनगरबाट लिएर आउनुपर्ने बाध्यता थियो । रिफयुलिङ सेन्टर स्थापनाले दुईतर्फी रुपमा इन्धन बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छ, यात्रुले भोग्दै आएको समस्या पनि टरेको छ,’ उनले भने । एक्लो प्रयासले मात्र रिफयुलिङ सेन्टर सञ्चालनमा नआएको भन्दै उनले नेपाल आयल निगम, नागरिक उडडयन प्राधिकरणलगायत भारत सरकारले समेत सहयोग गरेकाले मात्र सम्भव भएको बताए । मन्त्री यादवले अन्य ठाउँमा पनि रिफयुलिङ सेन्टर आवश्यक रहेकाले ४ वटा टयांकर खरिदकालािग टेण्डर आह्वान गरिसकेको बताउँदै आगामी माघसम्म टयांकर आइपुग्ने दावी गरे ।
फरक प्रसंगमा मन्त्री यादवले प्रदेश २ सरकारले जनकपुर चुरोट कारखानालाई बन्धक बनाएर राखेको टिप्पणी गरे । उनले निर्वाचनका बेला बन्द अवस्थामा रहेका उद्योग तथा कलकारखाना सञ्चालनमा ल्याउने भनेर गरेको प्रतिबद्धता पुरा गर्न चुरोट कारखाना सञ्चालनमा ल्याउन खोजेको बताए । प्रदेश सरकार सञ्चालन र कार्यालय व्यवस्थापनका लागि आवश्यक भएपनि चुरोट कारखाना परिसर खाली गर्न प्रदेश सरकारलाई आग्रह गरे।
उनले प्रदेश २ का मन्त्रीले कारखाना सञ्चालन गरे ‘देखाइदिन्छु’ भनेर दिएको अभिव्यक्तिप्रति तिखो कटाक्ष गरे । ‘प्रदेशको समृद्धिका लागि कलकारखाना सञ्चालनमा ल्याउने भनेका छौँ तर प्रदेशका मन्त्रीले बन्दुक हातमा पर्नेबित्तिकै देखाइदिन्छौँ भन्छ,’ मन्त्री यादवले थपे, ‘खाली बन्दुक लिएर कसलाई देखाइदिने ? के देखाइ दिने ?’ उनले सबै राजनीतिक दल मिलेर काम गरे २ नम्बर प्रदेश अग्रस्थानमा आउने दावी गरे । ‘मधेसलाई सोच्नुपर्ने समय आएको छ । शासकवर्गले विगतमा के गरे र हामी के गर्दैछौँ ?,’ उनले थपे, ‘हामीले यो ठाउँ बनाउने कि प्रदेश सरकारले कुटुम्ब बनाउने ? मधेसको अवस्था देखेर सम्पुर्ण नेपालीलाई पीडा भइरहेको छ ।’
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवले प्रदेश २ को जनकपुर एयरपोर्टमा रिफयुलिङ सेन्टरलाइ विस्तार गर्दै प्रदेश २ को राजविराज र बाराको सिमरा एयरपोर्टमा समेत स्थापना गरि प्रदेश सरकारलाई सहयोग गर्न संघीय सरकारलाई आह्वान गरे ।