उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले ६ महिनाअघि सञ्चालनमा आइसकेको जनकपुरस्थित सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको उदघाटन गरेका छन्।
२०७५ माघ १५ गतेदखि सुचारु भएको केन्द्रको बिहीवार आयोजित एक समारोहकाबीच मन्त्री यादवले उदघाटन गरेका हुन्। केन्द्रमा ४ हजार बिरामीको स्वास्थ्य परीक्षण भइसकेको छ।
उद्घाटनका क्रममा मन्त्री यादवले हृदय केन्द्र जनकपुर शाखालाई काठमाडौँजस्तै स्तरीय केन्द्रको रुपमा विकास गर्न सकिने उल्लेख गरे।
सबैभन्दा बढी हृदय रोगी रहेको यस प्रदेशमा जनकपुर शाखाको स्थापनाले रोगीहरुको उपचारमा मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे। बहिरंग सेवाले मात्र सम्पूर्ण उपचार सम्भव नरहेको उल्लेख गर्दै मन्त्री यादवले अगामी दिनमा जनकपुर शाखाको विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारलाई समेत सहयोग गर्न आग्रह गरे।
प्रदेशमा शिक्षा र जनचेतनाको कमीले सबैभन्दा बढी कुपोषण, हृदयरोग, मधुमेह लगायतका रोगी बढेको उल्लेख गर्दै यसका लागि चेतना, खानपान र आचरणमा समेत सुधार ल्याउनुपर्ने उनको भनाई थियो। ‘शिक्षा तथा जनचेतनाको कमीले यस्ता रोगहरु बढ्दैछ। यसका लागि प्रदेशमा हृदय केन्द्रको स्थापना भइसकेको छ र क्यानसर रोगको पनि चाँडै अस्प्ताल बन्दै छ,’ उनले भने।
प्रदेशमा निर्माण हुने क्यानसर हस्पिटललाई भरतपुर क्यान्सर अस्पतालको अंगको रुपमा सञ्चालन गरिने उनको भनाइ थियो। जनकपुर अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर गंगालाल ह्रदयकेन्द्र शाखालाई समेत त्यससँग समन्वय गराएर अगाडि बढाउनुपर्ने उनले बताए। यसले प्रादेशिक अस्पताल र ह्रदयकेन्द्र दुबैलाई फाइदा हुने उनले विश्वास व्यक्त गरे।
मन्त्री यादवले जनकपुर अञ्चल अस्पताललाई प्रदेशको नमुना र बिशिष्टीकृत सेवा पुर्याउने अस्पतालको रुपमा विकास गरिने बताए। कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले ह्रदयकेन्द्र स्थापनाले प्रदेशमा रहेको मुटुरोगीको उपचारमा सहयोग पुग्ने भएकाले अस्पताल विकासका लागि आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए।
मन्त्रीपरिषदको अगामी बैठकले अस्पताललाई केही दिनभित्रै प्रदेशिक अस्पताल घोषणा गर्ने बताउँदै मुख्यमन्त्री राउतले अस्पतालमा आवश्यक दरबन्दी सिर्जना गरी चिकित्सक तथा स्टाफ नर्स भर्ना गरिने उनले बताए।
मुख्यमन्त्री राउतले अस्पतालमा भौतिक संरचनामा मात्र नभई विशिष्ट सेवाका लागि आवश्यक उपकरणको समेत व्यवस्था गर्ने तयारी भइरहेको बताए। उनले चिकित्सक अभावको नाउमा विकास समितिमार्फत विकास समितिका अध्यक्ष तथा अस्पताल प्रमुखले आफन्त नियुक्त गर्न नपाउने चेतावनीसमेत दिए।
प्रदेश सरकारले चिकित्सकका साथै स्टाफनर्सको सुरक्षा तथा वृत्ति विकासका लािग सहयोग गर्ने उल्लेख गरे। कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साहले संघीय सरकारले अस्पतालको भवन निर्माणमा सहयोग गरदिए अन्य व्यवस्था प्रदेश सरकार आफै गर्न पनि सक्षम रहेको जिकिर गरे। उनले ७० दिनभित्र ह्रदय केन्द्रमा प्रदेश सरकारले क्याट ल्याबको व्यवस्था गर्ने उल्लेख गरे।