प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले सरकार नै संघीयता असफल बनाउने दिशामा लागेको आरोप लगाएका छन् ।
‘अधिकार जति प्रधानमन्त्रीले आफ्नो मातहत राख्न खोज्ने, संविधानको मर्मविपरीत प्रदेश सरकारलाई निकम्मा बनाउने, प्रदेशलाई अधिकारै नदिने, प्रदेश र स्थानीय सरकार केन्द्र सरकार मातहत हो भन्दै हिँड्ने यसले के संकेत गर्छ ?’ बुटवलमा मंगलबार आयोजित साक्षात्कारमा उनले भने ।
प्रधानमन्त्रीले एक्लै सेना परिचालन गर्ने गरी विधेयक ल्याउँदै छन्, हामी विरोधमा छौं उनले भने, ‘गुठी विधेयक, मानवअधिकार आयोगसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक, यी सब के हुन्, कुन उद्देश्यले आएका हुन् ? ’
ल एन्ड अर्डर प्रदेशमै हुनुपर्ने भन्दै शाहले सीडीओ पनि प्रदेश मातहत हुनुपर्ने बताए । 'मुद्दा, मामिला, दण्ड जरिवाना, कर राजश्व सबै केन्द्रले नै गरेपछि प्रदेशको के काम ?' उनले भने । छिमेकी भारत र पाकिस्तानमा संघीयताको कार्यान्वयन कस्तो र कसरी भइरहेको छ भनेर हेर्नुपर्ने भन्दै शाहले प्रदेशका अधिकार केन्द्रले तान्न नहुने बताए ।
वाइडबडी काण्डमा प्रधानमन्त्री नै जथाभावी बोल्दै हिँड्नु गलत
सभापति शाहले वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले मुद्दा चलाउन ढिला गरेको बताए । समितिले भ्रष्टाचार भएको ठहर गरेपछि त्यसको प्रक्रियाअघि बढाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धानले विभिन्न बहाना बनाई ढिला गरी रहेको बताएका हुन् ।
सभापति शाहले वाइडबडी काण्डमा साढे ४ अर्ब भ्रष्टाचार भएको हामीले प्रमाणसहित पेस गरेपछि कारबाही गर्नुको साटो प्रधानमन्त्री आफैं जथाभावी बोल्दै हिँड्नु लज्जास्पद भएको उनको भनाइ छ । प्रधानमन्त्री केपी ओलीले वाइडबडी जहाज खरिदका प्रकरणलाई अघि बढाउन नचाहेको शाहको भनाइ छ ।
‘ओली जी भन्नुहुन्छ उहाँ त यस्तो राम्रो मान्छे हुनुहुन्थ्यो भ्रष्टाचारै भएको छैन प्रधानमन्त्रीले नै त्यसो भन्न कहाँ मिल्छ, प्रधानमन्त्री न्यायाधीश हो ?’
साढे ६ खर्ब बेरुजु, विदेशी लगानी भित्रिन गाह्रो
शाहले बजेटको आधा हिस्सा साढे ६ खर्ब बेरुजु हुँदा नेपालप्रति अन्तर्राष्ट्रिय निकायले हेर्ने दृष्टिकोणसमेत नराम्रो भएको भन्दै यसरी लगानी भित्रिन गाह्रो हुने बताए । ‘सबै बेरुजु भ्रष्टाचार होइन तर बेरुजु धेरै हुदा शंका धेरै हुन्छ अहिले दातृ निकायले भन्न लागेका छन् तिमीहरू कति अव्यवस्थित र अपारदर्शी छौ,’ उनले भने ।
सरकार गतल बाटोमा हिँड्यो
कांग्रेस नेतासमेत रहेका उनले सरकार गतल बाटोमा हिँडेकाले जनताले नरुचाएको बताए । ‘जताततै कर बढाइएको छ, हत्या हिंसा, बलात्कार, दुर्घटना बढेको बढ्यै छन् सरकार निदाएर बसेको छ ।’ इन्टरनेटमा ४२ प्रतिशत कर संसारमा कहीं छैन, किताबमा १० प्रतिशत कर, हरेक चिजमा ३० देखि ३५ प्रतिशत कर लगाइँदा जनता मर्कामा परेको शाहले प्रस्ट्याए ।