पोखरामा पछिल्लो समय बिना कागजात, अवैध रुपमा बस्दै आएका विदेशी नागरिक धमाधम पक्राउ पर्न थालेका छन् । गत असार देखि यो साउनको १ वर्षे अवधिमा पोखराबाट यस्ता विदेशी नागरिक २२ जना पक्राउ परेका छन् ।
भिसा अवधि सकिएका, काजगजात बिना बस्दै आएका विदेशीलाई सामान्य छानबिनपछि पर्यटक प्रहरीले पक्राउ गर्दै आएको छ । प्रहरीले सूचनाको आधारमा वा शंकास्पद लागेका पर्यटकलाई पछिल्लो समय निगरानी समेत बढाएको पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी नायव निरीक्षक रविन पाण्डे बताउँछन् । ‘घुम्ने बहानामा नेपालमा आएर लुकिछिपी बस्ने विदेशीलाई चेकजाँच गर्दै आएका छौं,’ उनले भने, ‘बजार क्षेत्रसँगै गाउँतिर पनि हामीले निगरानी थालेका छौं ।’
पोखरामा पक्राउ परेका विदेशीलाई अध्यागमन कार्यालय पोखरा मार्फत थप कारवाहीको लागि अध्यागमन विभागमा पठाइएको छ । पठाइएका २२ मध्ये सबैभन्दा बढी रसियन नागरिक रहेको अध्यागमन कार्यालय पोखराका वरिष्ठ अध्यागमन सहायक चेतराज आचार्यले जानकारी दिए । भिसा र कागजात बिना बस्दै आएका ७ रसियनलाई कारवाही गरिएको रेकर्डमा छ । परिवारसहित लेकसाइडमा बस्दै आएका ४ रसियन नागरिकलाई एकैदिन पर्यटक प्रहरीले पक्राउ गरेको थियो ।
नेपालस्थित रसियाली दूतावासको आग्रहमा ४ जनाको ओभरस्टे बापतको झन्डैं ९ लाख र बिलम्ब शुल्क मिनाहा गरी फिर्ता पठाइसकेको छ । अवैध रूपमा बसेका उनीहरूले भिसा र विलम्ब शुल्कबापतको रकम तिर्न नसक्ने आधार प्रष्ट भएमा परराष्ट्र र गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गर्दै आइरहेको छ ।
पोखराबाट पक्राउ पर्नेमा यमन, तिब्बती, नेदरल्यान्डस्, बेलायत, जर्मनी, टर्की, फ्रान्स, केन्याका लगायत देशका नागरिक छन् । उनीहरु ओभरस्टे र बिना कागजात रहनु प्रमुख कारण रहेको अध्यागमनका बरिष्ठ अध्यागमन सहायक आचार्यले जानकारी दिए ।
पक्राउ परेका विदेशी नागरिलाई अध्यागमन कार्यालय पोखराको आफ्नै हिरासत कक्ष नहुँदा भने समस्या देखिएको छ । पक्राउ परेकै दिन काठमाडौं पठाउन सम्भव नभएको खण्डमा अध्यागमनको आग्रहमा वडा प्रहरी कार्यालय बैदामको हिरासत कक्षमा राख्ने गरिएको छ ।
गृह मन्त्रालयले विदेशी नागरिक अनुगमन निर्देशिका बनाएको भएपनि कार्यान्वयन नहुँदा सरकारी संयन्त्र कमजोर जस्तै बनेको छ । कागजात भएका तर प्रयोजन विपरित काममा संलग्न भइरहेका विदेशी नागरिकमाथि चेकजाँच गरिदिन भन्दै पर्यटक प्रहरीका गुनासो पुग्ने गरेका छन् ।