नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३७ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी सोमबार मनाइएको छ ।
विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । त्यस्तै विपी कोइराला युवा नेतृत्व विकास प्रतिष्ठानल विपी संग्रहालय सुन्दरीजलमा बिशेष कार्यक्रमको आयोजना गरेको थियो ।
विपी कोइराला लोकतान्त्रीक सामाजवाद र आधुनिक नेपाल बिषय अन्तक्र्रियामा काग्रेस नेताहरुले विपीको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा काग्रेस नेता डा रामशरण महतले अहिलेको अवस्थामा विपीको बाटोलाई काग्रेसले विर्सन नसक्ने धारणा व्यक्त गरे ।
नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्त गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताएका थिए । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
उनले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । अहिले विपीको स्मरणमा उहाको जीवनका महत्वपूर्ण सामग्री राखेर सुन्दरीजलमा संग्रहालय निर्माण गरिएको छ । त्यहा विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्यांकर, काँग्रेसले विसं २०२९ जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान पनि राखिएको छ ।