नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार लोकतन्त्रको खिलापमा अघि बढेकोले सडक संघर्षमा जानुुपर्ने अबस्था आएको बताएका छन्।
बीपी कोेइरालाको ३७ औं स्मृति दिबसका अवसरमा शहीद स्मृति प्रतिष्ठानद्धारा सोमबार आयोजित ‘बिपीको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले लोकतान्त्रिक मूल्य र मान्यतालाई कटौती गर्दै सरकारले बिधेयक ल्याएपछि सदन अबरुद्ध गरेरमात्र नहुने भएकोले सडक संघर्ष गर्न बाध्य हुने अबस्था आएको उल्लेख गरे।
उनले भने ‘मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने ढुंगबाट ल्याएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ।’
अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट काम भइरहेको भन्दै सभापति देउवाले व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको आरोप लगाए।
बीपीको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको भन्दै उनले लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए कांग्रेसका लागि सह्य नहुने स्पष्ट पारे। बिपीको विकासको सोचका आधारमा देशलाई अघि बढाउन सकिए छोटो समयमा समृद्धि हाँसिल गर्न सकिने उनको भनाई थियो।
कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले बीपीले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक आधार अघि सार्नुभएकाले देशका लागि प्रजातन्त्र नै अपरिहार्य शर्त हो भन्ने पक्षलाई सबैले मनन गर्नुपर्ने बताए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्रको विजयको हिसाबले बिपीको विचारले निकै ठूलो उचाइ प्राप्त गरेको उल्लेख गरे। राजा र कम्युनिष्टले बीपी विचारलाई बुझेको भए यो देश र यहाँका र जनताले यति धेरै दुःख भोग्नुपर्ने अबस्था नआउने उनको भनाई थियो।
प्रतिष्ठानका संस्थापक ढुण्डिराज शास्त्रीले बिपीले लिनुभएको प्रजातान्त्रिक समाजवादको बाटो लोकतान्त्रिक सिद्धान्त र मानव कल्याणको उचित गन्तव्य थियो भन्ने विद्यमान राजनीतिक घटनाले पुष्टि गरेको धारणा व्यक्त गरे।