कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो पटक बाढी प्रभावित तराईका विभिन्न क्षेत्र पुगेका छन् ।पूर्वप्रधानमन्त्री देउवाले सिरहाका बाढी र डुबान क्षेत्रको शुक्रबार अवलोकन गरेका हुन् ।
सरकारका मन्त्रीहरु हेलिकप्टरबाटै अवलोकन गरेर फर्किएको गुनासो बढिरहेका बेला कांग्रेस सभापति देउवा प्रदेश २ का बाढीपीडित जिल्लाका गाउँ गाउँमा पुगेका हुन् ।
बाढीपीडित परिवारसँग भेटेका पूर्वप्रधानमन्त्री देउवाले बाढीपीडितको दुखेसो सुनेपछि डुबान प्रभावितको अवस्थाले आफूलाई दुःखित तुल्याएको प्रतिक्रिया दिए । उनले राहतका निम्ती संसद्मा सरकारसँग कडा माग राख्ने आश्वासन दिदै तत्काल उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरे । आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएको र बाढी प्रभावितको उद्धार तथा राहत वितरण गर्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने समेत बताए ।
ठाउँ-ठाउँमा भारतीय बाँधका कारण पनि तराईका धेरै जसो भूभाग डुवानमा परेको भन्दै उनले तत्काल ‘बाँधका विषयमा भारतीय पक्षसँग कूटनीतिक वार्ता गर्नुपर्ने आवश्यकता औल्याए ।
बाँध भत्काएर कमला नदिको बाढी पसेपछि सिरहाको तटीय क्षेत्र सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरीया लगायत दर्जनौं गाउँ डुबानमा परेका थिए ।
बाढी र डुबानबाट सबैभन्दा बढी कल्याणपुर नगरपालिकाको १२ वडा बढीपीडित छन् ।देउवासँगै अवलोकनका लागि सिरहाका पार्टी सभापति रामचन्द्र यादव, सांसद चित्रलेखा यादव पनि प्रभावित क्षेत्र पुगेका थिए ।