स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक वर्षमा भएका मुख्य उपलब्धिहरु सार्वजनिक गरेको छ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विभिन्न ८ विषयका ५० मुख्य उपलब्धि सार्वजनिक गरेका हुन्।
मन्त्रालयले ऐन, नियम, मापदण्ड, निर्देशिका र कार्यविधि, स्वास्थ्य संस्था तथा निकायहरु हस्तान्तरण, योजना तर्जुमा, अनुगमन, मूल्यांकन र समन्वयमा उल्लेख्य उपलव्धी हासिल गरेको जनाएको छ । त्यस्तै विपद् व्यवस्थापन पूर्व तयारी तथा प्रतिकार्य, अध्ययन, अनुसन्धान र सर्वेक्षण र विशेषज्ञ चिकित्सक परिचालनमा समेत उपलब्धि हासिल गरेको जनाएको छ।
पत्रकार स्म्मेलनमा मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सरकारले छुट्ट्याएको बजेट निकै कम भएको बताए । जम्मा ४ दशमलव ४८ प्रतिशत बजेट दिइएको भन्दै उनले ४ प्रतिशत तलबमा नै खर्च हुने बताए । स्वास्थ्यको बजेट कुल बजेटमा कम्तिमा १० प्रतिशत हुनुपर्ने र यसका लागि आफूले पहल गरिरहेको उनको भनाई छ।
त्यस्तै स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले संघीय संरचना अनुसार काम अगाडि बढाउने क्रममा केही काममा ढिलाई हुन पुगेको बताइन् । मन्त्रालयले प्रत्येक स्थानीय तहमा कम्तिमा एक प्राथमिक अस्पताल स्थापना गर्ने नीति अनुरुप २५१ स्थानीय तहमा सम्भाव्यता अध्ययन सम्पन्न भईसकेकोछ र आगामी आ.व.मा निर्माण कार्य शुरु हुने जनाएको छ।
नेपाल सरकारबाट छात्रबृत्ति पाई बिशेषज्ञ चिकित्सा शिक्षा अध्ययन पूरा गरेका १४३ जना बिशेषज्ञ चिकित्सकहरूलाई पहिलो पटक बिभिन्न अस्पतालमा परिचालन गरिएका पनि मन्त्रालयले जानकारी गराएको छ।