संघीय संसद्को माथिल्लो सदनमा पहिलोपटक सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संयुक्त प्रस्ताव पेस गरेका छन् ।
सदनमा रहेका साना दलको समेत समर्थनमा नेकपा र कांग्रेसले बाढी तथा डुबानको संकट समाधानका लागि राष्ट्रिय सभाको शुक्रबारको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका हुन् । बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गर्दै नेकपाका खिमलाल भट्टराईले सत्तापक्ष र सत्तापक्ष नभनी सिंगो सदन एक भएर लागेको बताए ।
‘राष्ट्रिय सभाले एउटा संस्कार, मूल्य र मान्यतलाई नयाँ रूपमा स्थापित गरेको छ,’ उनले भने, ‘आज हामीले नयाँ उदाहरण पेस गरेका छौं । राष्ट्रिय मुद्दामा एकताबद्ध भएर राष्ट्रिय संकटको मुद्दालाई उठाउन खोजेका छौं । एक भएर संकट समाधानमा लागेका छौं ।’
जरुरी सार्वजनिक महत्त्वको प्रस्तावका प्रस्ताव नेपाली कांग्रेसका बद्री पाण्डेले राष्ट्रिय संकटलाई राजनीतिक हतियार नबनाऔं भनेर साझा प्रस्ताव दर्ता गरेको बताए । '३ दिनअघि राधेश्याम अधिकारी प्रस्तावक रहेको प्रस्तावलाई नै साझा प्रस्ताव बनाउन आग्रह गरेको थियौं,’ उनले भने, ‘संकटलाई राजनीतिक हतियार नबनाऔं भनेर सामूहिक प्रस्ताव दर्ता गरेका हुन् ।’
यसअघि प्रतिनिधि सभामा कांग्रेस र राजपाले दर्ता गरेको प्रस्तावमाथि छलफल हुन सकेको थिएन । राष्ट्रिय सभामा नेकपाका खिमलाल भट्टराई, कांग्रेसका बद्री पाण्डे र राजपाका वृषेशचन्द्र लालले प्रस्ताव दर्ता गराएका थिए । जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफल सकिएपछि गृहमन्त्री रामबहादुर थापा बादलले सदनमा जवाफ दिने तयारी छ । जवाफ सकिएपछि राष्ट्रियसभा अध्यक्षले राहत, उद्धार र पुन:स्थापनाका लागि सरकारलाई निर्देशन दिने प्रस्ताव पेस गर्ने कार्यसूची छ । यसैबीच राष्ट्रियसभाका सदस्यहरूले एक दिनको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा पठाउने भएका छन् ।