प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरुले बाढी तथा डुबान प्रभावितहरुका लागि आफ्नो १ महिनाको तलब दिने घोषणा गरेका छन्। प्रदेश मन्त्रिपरिषदको मंगलबारको बैठकले राहत स्वरुप एक महिनाको तलब दिने निर्णय गरेको हो। यस्तै उद्धार तथा राहतको काम तीव्र बनाउने पनि बैठकले निर्णय गरेको छ।
साउन १ (भोलि) देखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री तथा प्रदेशसभा सदस्यहरु आफ्नो क्षेत्रमा खटिएर राहतको काम गर्ने निर्णय पनि गरिएको छ। प्रभावित परिवारको राहत तथा पुनर्स्थापनालाई चुस्त बनाउन प्रदेशका प्रमुख सचिव दीपक सुवेदी संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति गठन गरिएको छ।
यो समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगनम र निरीक्षण गर्नेछ। प्रदेश सरकारले बाढीबाट मृत्यु हुनेका परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भने यसअघि नै गरिसकेको छ।
यसैबीच, अबिरल वर्षाबाट आएको बाढीमा परी ज्यान गुमाएका परिवारलाई काँग्रेसका प्रदेशसभा सदस्यहरुले १० दिनको तलब दिने भएका छन्।
मंगलवार बसेको प्रदेश २ काँग्रेस संसदीय दलको बैठकमा मृतकहरुप्र्रति समबेदना प्रकट गर्दै १० दिन बराबरको तलब पीडित परिवारलाई सहयोगका लागि सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको हो।
डुबान तथा बाढी पीडितलाई राहत वितरणमा सक्रिय हुन प्रदेश सरकारलाई आग्रह गर्ने समेत निर्णय भएको पार्टी सचेतक उपेन्द्र कुशवाहाले जानकारी दिए। बैठकमा काँग्रेस संसदीय दलका टोलीले मृतकको घर घरमा पुगेर दुःखको घडीमा साथ दिने निर्णय भएको कुशवाहाले बताए।